मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्धवार्षिक समीक्षा सम्पन्न

मुगु । २०७९ असार ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मुगु जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई पुनरपुष्टि गर्ने उद्देश्यले सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न गरेको छ ।नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि मुगु जिल्लामा २०२२ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कुनै घटना छुटेकी, सङ्कलन गरेका घटना कुनै विवादस्पद छन की भन्ने उदेश्यले सरोकारवाला निकायबीच पूर्व समीक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले २०२२ जनवरीदेखि जुन १५ सम्म भएका ११ ओटा घटना प्रस्तुत गर्नु भएको थियो । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले महिला अधिकारका चार, खाद्य अधिकार सम्बन्धि एक, बलात्कारका दुई र नागरिक तथा राजनीतिक अधिकारका चार ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।

समीक्षा कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायले इन्सेकले सङ्कलन गरेका मानव अधिकारका घटनाले राज्यलाई मानव अधिकारको संरक्षणमा सचेत बनाउन सहयोग पुगेको बताउनु भयो । उहाँले मानव अधिकारको प्रत्याभूति राज्यबाट हुने हुँदा यसको संरक्षणमा राज्य लागि परेको बताउनु भयो । कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार गोविन्द आचार्यले इन्सेकले प्रत्येक वर्ष प्रकाशनगर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितहरूका लागि दस्तावेज हो । यसमा प्रकाशन भएका घटना सत्यतथ्य छन । यो पुस्तकले मानव अधिकारको संरक्षणमा ठुलो योगदान पुराउँदै आएको छ । अबका दिनमा संचार, यातायातका घटनालाई पनि समेटेर लैजानु पर्ने श्रेष्तेदार आचार्यले सुझाव दिनु भयो । 

जीवन सेजुवाल