मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

धनुषा । २०७८ पुस ९ गते

मानव अधिकार र सामाजिक न्यायका निम्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयबिच पुस ८ गते धनुषामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ कार्यालय मातहतका जिल्ला प्रतिनिधिले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि समीक्षा गर्दै जिल्ला प्रतिनिधिसँग प्रदेश कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । अन्तरक्रियामा इन्सेक प्रतिनिधिले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गर्दा भोग्नु परेको समस्या र चुनौती विषयमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया गरिएको इन्सेक प्रदेश २ कार्यालयका प्रलेख अधिकृत सागर कँडेलले बताउनु भयो । जिल्लामा इन्सेक प्रतिनिधिले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणसहित पीडित पक्षलाई न्याय दिलाउन इन्सेक जिल्ला प्रतिनिधिहरूले मानव अधिकारकर्मीको भूमिका कसरी निर्वाह गर्ने तथा उक्त घटनाको अभिलेखको महत्वका विषयमा इन्सेक अनलाइन सम्पादक रमेशप्रसाद तिमल्सिनाले बताउनु भयो ।

मानव अधिकार उल्लङ्घनका घटनाहरूको सम्पादन गर्दा गम्भीर प्रकारका घटनाहरू नछुटाउन तथा पीडितहरूको न्यायका लागि काम गर्दा जिल्ला प्रतिनिधिहरूले सचेत भएर काम गर्नुपर्ने मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले बताउनु भयो । जिल्ला प्रतिनिधीहरुले सिमित श्रोत र साधनका बिच घटना सङ्कलन, पीडितको न्यायको लागि पहल, घटना दर्तालगायत अदालतले गरेको न्यायको सवालमा जिल्ला प्रतिनिधीहरुको भूमिका अहम् रहँदै आएको तथा कतिपय अवस्थामा मानव अधिकार रक्षक आफैँ समस्यामा पर्ने भएकाले इन्सेकले मानव अधिकार रक्षकलाई सहयोग गर्ने इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनु भयो । मानव अधिकार हनन्का घटनाहरू सङ्कलन गर्नु र घटना अभिलेख गर्नु चुनौतीपूर्ण रहेको तथा सप्तरीमा अपरिचित व्यक्तिबाट हत्याका घटनाहरू वृद्धि भएको इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा अभिलेखीकरण गरिएका घटना र जिल्लाको मानव अधिकार अवस्थाका विषयमा जानकारी गराएका छन् ।

दिपेन्द्रप्रसाद सिंह