मानव अधिकार प्रवर्धनका लागि सचेत रहेको उपमेयरको भनाइ
दैलेख । २०७९ जेठ २२ गते
नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानव अधिकार प्रवर्धनका लागि आफूहरु सचेत रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदी नेतृत्वको टोलीसँग जेठ २० गते उपमेयर थापाले सवाल प्राथमिकीकरणमा जुटेको सुनाउनु भयो । मानव अधिकारको सवाललाई प्राथमिकीकरण गर्दा सबै भन्दा धेरै महिला माथि हुने हिंसा, त्यसको अलवा जातीय विभेद लगागतका कुरीति, कुसंस्कार विद्यमान रहेकाले यी सबै समाधानका लागि नागरिक समाजसँगको सहयोग चाहिएको उपमेयर थापाले बताउनु भयो । इन्सेकका कर्णाली प्रदेश संयोजक सुवेदीले इन्सेकका प्रकाशन हस्तान्तरण गर्दै हिंसा रोकथाम र समाजमा रहेका सबै प्रकार विभेद असमानता न्यूनीकरण गर्दै पछाडि पारिएका नागरिकहरुको सामाजिक न्याय प्रत्याभूति दिलाउन नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले सिमान्तकृतहरूका लागि जेठ २० गते जातीय विभेद र लैङ्गिक हिंसासम्बन्धी कानुनी सचेतना कार्यक्रम गरेको छ । नमूनाबस्तीका वादी समुदायलाई जातीय विभेद तथा लैङ्गिक हिंसाबारे कानुनी व्यवस्था र अधिकार प्राप्तिका लागि कानुनी उपचार विषयमा अधिवक्ता मातृकाप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो । जेठ २० गते नै इन्सेकको ‘अधिकार २’ परियोजना अन्तर्गत दैलेख सदरमुकाममा गठित मानव अधिकार रक्षक सञ्जालले गरिरहेको मानव अधिकार प्रवर्धनसम्बन्धी काम र यसको प्रभाव विषयमा समीक्षा गरिएको छ ।
अमर सुनार