मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक: घिमिरे

दैलेख । २०७९ असार ६ गते

जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा असार ६ गते आयोजना गरेको वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जिल्ला न्यायाधिवक्ता घिमिरेले इन्सेकले मानव अधिकार वर्ष पुस्तक र प्रकाशन गर्ने अरु प्रकाशनमा अदालती भाषा प्रयोग गर्न सुझाव दिनुभयो । ‘अदालती भाषा प्रयोग भएमा घटनाको परीक्षण र पुनर्पुष्टीमा सहज पुग्छ’ उहाँले प्रष्ट्याउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले महिला हिंसाको उपज नै बालविवाह भएकाले बालविवाह रोकथाममा नागरिक समाजको अग्रसरता बढाउन आग्रह गर्नु भयो । सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले कानूनी प्रक्रियामा नआएका र लुकेका सबैजसो घटनाहरू खोजी गरी प्रकाशनमा ल्याउन सके समाजमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक विशाल सुनारले इन्सेकको वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरू परीक्षण गर्ने पद्धति राम्रो भएको र सरोकारवाला निकायले दिएका सुझाव अनुसार सुधार गर्नुपर्नेमा जोड दिनु भयो । अधिकारकर्मी डिलकुमारी चन्दले महिला तथा बालिका माथि हुने बलात्कार, बहुविवाह, छाउपडी प्रथा लगायत सबै प्रकारका हिंसा, जातीय विभेद हटाउन स्थानीय सरकारको तत्परता चाहिएको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२२ को जनवरीदेखि जुन महिनासम्म सङ्कलित ३२ वटा घटना मध्ये तीन वर्ष मुनिका बालबालिकाको हत्या दुई, बलात्कार १०, बहुविवाह पाँच, घरेलु हिंसा नौ, बालविवाह तीन, यौन दुर्व्यवहारका दुई र एक अभद्र व्यवहारसम्बन्धी घटना अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । सङ्कलित घटनाका विवरण सुनाइसकेपछि सरकारका निकाय र नागरिक समाजका प्रतिनिधिबीच खुला छलफल भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत