मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवाल विषयक अन्तरक्रिया सम्पन्न

बैतडी । २०७८ असोज ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रम असोज ५ गते सम्पन्न भएको छ । महिला मानव अधिकारकर्मी सरस्वती नेपालीले राज्यले मानव अधिकारकर्मीको सवालमा नीति अनुसार काम गर्न नसकेको गुनासो गर्नु भयो । मानव अधिकार रक्षकहरु सुरक्षाका सम्बन्धमा नीतिगत सम्बोधन भएको भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको उहाँले बताउनु भयो । कार्यक्रममा सहभागि मानव अधिकार रक्षक तथा अन्य सरोकारवालाहरुले विपन्न तथा पछाडि पारिएका नागरिक नेपालको संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलगायतका आधारभूत अधिकारबाट वञ्चित हुनु परेको बताएका छन् ।

 

अधिवक्ता हरिदत्त भट्टले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुले अझै कोभिडको खोप पाउन नसकेकोले यसतर्फ सरोकारवाल पक्षको ध्यान जान जरुरी भएको बताउनु भयो । मानव अधिकारकर्मी सरस्वती नेपालीले महिला र दलितले आधारभूत अधिकार अझै पाउन नसेकेको बताउनु भयो । उपेक्षामा परेको बर्ग र समुदायको अधिकारका लागि सबैले वकालत तथा पहल कदमी गर्न आवश्यक भएको उहाँले बताउनु भयो । जिल्लाको नेपाल–भारत सीमानाका झुलाघाटमा यात्रुहरुले सास्ती भाग्नुपरेको भएपनि समस्याको समाधानका लागि सरकारले पहलकदमी नगरेको गैरसरकारी संस्था महासङ्घका प्रतिनिधि गोविन्दराज जोशीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रोजेन्द्रदेव पाण्डेले मानव अधिकार रक्षकहरुको सुरक्षा र जनताको मानव अधिकार प्रत्याभूत गराउन आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले समस्याहरु भन्नका लागि औपचारिक कार्यक्रमनै नकुरी तत्काल जानकारी गराएको खण्डमा आफूहरु त्यसको समाधानका लागि प्रयास गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश पाल र सशस्त्र प्रहरी बलका डिएसपी गणेश शाहले पनि मानव अधिकारकर्मीहरुको सुरक्षाका सवालमा आफूहरु जिम्मेवार रहेको बताउनु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकारकर्र्मीहरुको सुरक्षाका सवालमा राज्य जिम्मेवार हुनु पर्ने र नेपाल सरकार गृह मन्त्रालयले आदेश गरेको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न जिल्लास्थित सुरक्षा निकायलाई आग्रह गर्नु भयो ।

नरी बडु