अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको समन्वय तथा मानव अधिकार एलाइन्स गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरूको प्रदेश तथा जिल्ला भेला ०८३ भदौ २५ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था, मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि उनीहरूले निर्वाह गर्नुपर्ने भूमिका र मानव अधिकार रक्षकहरूले सामना गरिरहेका चुनौतीका विषयमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार रक्षकहरूको भूमिका, मानव अधिकार संरक्षण तथा प्रवद्र्धनमा नागरिक समाजको योगदान र मानव अधिकार उल्लङ्घनका घटनाको दस्तावेजीकरण तथा पैरवीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । भण्डारीले मानव अधिकार संरक्षणका लागि मानव अधिकार रक्षक, नागरिक समाज, राज्यका निकाय तथा सरोकारवाला संस्थाबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गर्तौलाले मानव अधिकारको विषयमा प्रस्तुतीकरण गर्दै मानव अधिकारको संरक्षण, संवद्र्धन र मानव अधिकार रक्षकको सुरक्षाका लागि संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । गर्तौलाले मानव अधिकार उल्लङ्घनका घटना भएमा सम्बन्धित निकायमा उजुरी तथा जानकारी गराउने र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार एलाइन्स गण्डकी प्रदेशका अध्यक्ष डा. बुद्धिबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार एलाइन्स गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य अनन्तकुमार श्रेष्ठले मानव अधिकार संरक्षणका लागि मानव अधिकार रक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मानव अधिकार रक्षकहरूबीचको एकता, सहकार्य र साझा पहललाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिकारकर्मी तथा नागरिक मञ्च गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बरालले मानव अधिकार रक्षकहरूले स्थानीय तहदेखि प्रदेश तथा राष्ट्रिय तहसम्म मानव अधिकार संरक्षणका सवाललाई निरन्तर उठाउनुपर्ने धारणा राख्नुभयो । मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य दिलु पुनले पनि मानव अधिकार संरक्षण तथा रक्षकहरूको सशक्तीकरणका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
त्यस्तै, कास्की जिल्ला बार एसोसिएसनका अध्यक्ष गणेशबहादुर आलेले शुभकामना मन्तव्य दिँदै मानव अधिकार संरक्षणका लागि कानुनी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । नागरिक अगुवा तथा वातावरण संरक्षणकर्मी रामबहादुर पौडेलले मानव अधिकार र वातावरणीय न्याय एकअर्कासँग जोडिएको विषय भएकाले वातावरण संरक्षणका सवाललाई पनि मानव अधिकारको दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राख्नुभयो ।
भेलामा गण्डकी प्रदेश तथा विभिन्न जिल्लाबाट सहभागी मानव अधिकार रक्षकहरूले आफ्ना अनुभव, चुनौती तथा आगामी कार्यदिशाका विषयमा समेत छलफल गरेका थिए । सहभागीहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा, क्षमता अभिवृद्धि, आपसी समन्वय तथा मानव अधिकार उल्लङ्घनका घटनामा प्रभावकारी पैरवीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
सहभागिहरुले मानव अधिकार एलाइन्स गण्डकी प्रदेशको आयोजना तथा इन्सेक गण्डकी प्रदेशको समन्वयमा भएको भेलाले गण्डकी प्रदेशमा मानव अधिकार संरक्षण र मानव अधिकार रक्षकहरूको सञ्जाललाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन ।
कार्यक्रममा विभिन्न गैरसरकारी निकाय, राष्ट्रिय मानव अधिकार आयोग, सञ्चार क्षेत्र, नागरिक समाज, वातावरण अभियन्ता, मानव अधिकार रक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL







