मानव अधिकार रक्षकहरूको विषयमा भएका आदेश कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड

बाँके । २०७८ भदौ १६ गते

मानव अधिकार रक्षकहरूको सुरक्षा र सङक्षणकालागि मानव अधिकार रक्षकहरूको  विषयमा भएका आदेश कार्यान्वयनमा ल्याउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना तथा डिसिए र सिसु परियोजनाका सहयोगमा भदौ १६ गते आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । जिल्ला प्रसाशन कार्यालयका सहायक सिडिओ दिर्घराज उपाध्यायले सरकारी निकाय र गैर सरकारी निकाय दुबै पक्षबाट कानुनको कार्यान्वयन गराउन सके मानव अधिकारको सङ्क्षणमा टेवा पुग्ने बताउनु भयो । उहाँले मानव अधिकारकर्मीहरू पनि आफ्नो आचार संहिताका विषयमा सम्वेशदनशील  हुनु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले गृह मन्त्रालयबाट भएको आदेशको आफूले पुर्ण रुपमा पालना गर्ने र आफु मातहतका कर्मचारीहरूलाई पनि पालना गर्न लगाउने बताउनु भयो । एसपी अधिकारीले मानव अधिकारकर्मीहरूले अधिकार मात्र नभएर आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यानमा राख्न आवश्यक रहेको बताउनु भयो । इन्सेकका कार्य समिति सदस्य रघुनाथ अधिकारीले गृहमन्त्रालयले गरेको आदेश संस्थागत रुपमा लागेका अधिकारकर्मीहरूका मात्र नभई सबै मानव अधिकारकर्मीहरूको सुरक्षा र सङ्रक्षरणका  निर्माण भएको बताउनु भयो ।

इन्सेक प्रदेश प्रमुख भोला महतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सशस्त्र द्वन्द्वको समयमा मानव अधिकारकर्मीहरूले भोग्नु परेका जस्ता समस्याहरू नभए पनि विभिन्न किसिमका चुनौतिहरूको सामना गर्नु परेको बताउनु भयो ।  मानव अधिकार रक्षकहरूका विषयमा भएको आदेश कार्यान्वयनमा आए चुनौति कम हुने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रमेश रावतले मानव अधिकार रक्षकहरूको अवस्था सन्तोषजनक नभएको बताउनु भयो । एडभोकेसी फोरमका बसन्त गौतमले मानव अधिकारकर्मीहरूले आफ्नो पेशागत मर्यादा भित्र रहेर काम गरे चुनौति कम हुने बताउनु भयो । उहाँले सुरक्षा र सूचनाको विषयमा सम्बन्धित निकायसँग समन्वय गरे काममा समस्या नआउने धारणा राख्नु भयो । अधिकारकर्मी प्रकाश उपाध्यायले मानव अधिकार रक्षकहरूको विषयमा भएको आदेशले केही राहत भएको बताउँदै राज्यले मानव अधिकार रक्षकहरूका विषयमा भएका आदेश कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो ।

स्मृति देवकोटा