मानव अधिकार वर्ष पुस्तक वार्षिक सम्पादन भेला सम्पन्न

कास्की । २०७९ पुस १८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को वार्षिक सम्पादन भेला पुस १८ गते पोखरामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस १७ र १८ गते चलेको भेलामा सन् २०२२ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा छलफल भएको थियो । सम्पादन भेलामा गण्डकी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्था र चुनौतीका विषयमा जानकारी गराउदै जिल्लामा अभिलेख गरिएका घटनाहरूको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले छलफल र अन्तरक्रियाले कामलाई सहज बनाउने बताउनु भयो । पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएपनि सबै घटना बाहिर आउन नसकेको उहाँको भनाइ थियो । कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिना र गोविन्द त्रिपाठीले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरूको पुष्टि र पुर्नपुष्टिको बारेमा सहजीकरण गर्नुभएको थियो ।

नारायण क्षेत्री