मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

जाजरकोट । २०७९ पुस १४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकार उलङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते सम्पन्न गरिएको छ । मानव अधिकारसँग सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्था, प्रहरी र पत्रकारहरुको उपस्थितिमा वार्षिक समीक्षा सम्पन्न गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले सन २०२२ जनावरी देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका २७ ओटा घटना प्रस्तुत गर्नु भएको छ । जसमध्ये अभद्र व्यवहारका ६,कुटपिट १ , बालअधिकार २ , बलात्कार तथा यौन  दुर्व्यवहार ८ , महिला हिंसाका ९ र जातीय विभेदका १ ओटा रहेका थिए ।

     

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले इन्सेकले प्रकाशन गर्ने बर्ष पुस्तकमा अझैंपनि गाउँ घरमा लुकेका र लुकाईएका मानव अधिकार र विशेष गरी वालविवाहका घटना आउन नसकेको हुँदा त्यस बिषयमा इन्सेक तथा सरोकार हामीसबै मिलेर तथ्याङ्क सङ्कलन र घटना न्युनिकरणमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाप्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष निरौलाले समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको बताउँदै मानव अधिकारका सवाल उठानका बिषयलाई कानुनी दायरामा ल्याउनका लागी समेत सबैले अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो । नेपालपत्रकार महासङघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले इन्सेकले मानव अधिकारका क्षेत्रमा गरेको कामप्रति प्रशंसा गर्नु भयो । समीक्षा कार्यक्रम मानव अधिकार रक्षक सञ्जालका संयोजक राजेन्द्र विक्रम शाहको अधयक्षतामा भएको थियो भने कार्यक्रममा सरकारी निकायका कर्मचारी, अधिकारकर्मी, वकिल र पत्रकारहररु समेत गरी २१ जनाको उपस्थिति रहेको थियो ।

दिनेशकुमार श्रेष्ठ