








भक्तपुर । २०७९ जेठ २५ गते
मानव अधिकार समूह चाँगुनारायण नगरपालिकाको आयोजनामा ०७९ जेठ २४ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय समुदायमा मानव अधिकारको अवस्था र राज्यले मानव अधिकारको सुचिश्चितताको लागि तय गरेको नीति एवम् योजना कार्यान्वयनको अवस्थाकाबारेमा छलफल भएको थियो । कार्यक्रममा चाागुनारायण नरपालिका वडा नं. १ का अध्यक्ष सिजन कार्कीले स्थानीय समुदाय र नागरिकहरूको सेवाको लागि आफू निर्वाचित भएर आएको र यहाँ रहेका विद्यमान समस्याहरूको समाधानका लागि सबैको साथ एवम् सहयोगमा शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा लगायत आवश्यक कार्यको निरीक्षण, अनुगमन गरी सेवा प्रदाय निकायहरूलाई उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । इन्सेक र मानव अधिकार समूह आफ्नो लागि नौलो भएको भन्दै उहाँले मानव अधिकारको क्षेत्रमा आगामी दिनमा इन्सेक र मानव अधिकार समूहसँग समन्वय एवम् सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य पुजा बर्देवाले नागरिकहरूको सेवामा तत्तपर रहँदै सकेसम्म आफूले गर्न सक्ने कामको लागि पछाडि नहट्ने बताउनु भयो । स्वास्थ्य कार्यालय दुवाकोटका प्रतिनिधिले नेपाल सरकारले प्रदान गरेको सेवाहरू वडा कार्यालयबाट प्रदान भई रहेको तर पनि माग बमोजिमको सेवाहरू दिन नसकेको बताउनु भयो । उहाँले स्वास्थ्य चौकीका लागि प्रभावकारी स्थानको अभाव भएको र गर्भावस्थाका महिलाहरूको लागि उपचार एवम् परामर्श कार्यमा असहज भएकाले समाधानको लागि सबैले पहल गर्नूृ पर्ने औँल्याउनु भयो । श्रीविनायक सरस्वती विद्यालयकी प्रधानाध्यापक गोमा पौडेलले सामुदायिक विद्यालयको स्तरोन्नतिको लागि अभिभावकहरूले विशेष चासो राख्नु पर्नेमा जोड दिँदै निजी विद्यालय र सामुदायिकमा पढ्ने विद्यार्थीहरूको भिन्नतालाई कम गर्न विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन सुरु गराए पनि शिक्षकहरूको परिपुर्ति हुन नसक्दा समस्या आएको बताउनु भयो । बाल मैत्री सम्पर्क व्यक्ति तथा निर्वतमान वडा महिला सदस्यले बालबालिको शिक्षाको विकासको लागि आफूले हर कोसिस गरेको बताउर्दै वडा नगरपालिकासँग मात्रै नभएर अन्य गैरसरकारी संस्थाहरूसँग समन्वय गरी बाल विकासमा सहयोग गरेको र आगामी दिनमा समेत सबैको सल्लाह सुझावबाट बालबालिकाहरूको शिक्षा, स्वास्थ्य अधिकारको लागि लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले शिक्षाको विकासको लागि सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा राजनीतिकरण बन्द गर्नु पर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई विद्यालय व्यवस्थापन समितिमा राख्नु पर्ने, सामुदायिक विद्यालयमा बालबच्चा पढाउने अभिभावकहरूले विद्यार्थीको सरसफाईमा विद्यालयले ध्यान दिनुपर्ने बताएका थिए । यसैगरी उनिहरूले निरन्तर अभिभावकहरूको बैठक भेला हुनु पर्ने, स्वास्थ्यमा निःशुल्क प्रदान गरिने सेवाहरूको जानकारी हुनु पर्ने, कृषिको लागि मल उपलब्ध गराउनु पर्ने, शिक्षा र स्वास्थ्य अधिकार सम्बन्धीका कार्यक्रमहरूका बारे सबैलाई जानकारी हुनुपर्ने बारेमा ध्यनाकर्षण गराएका थिए । कार्यक्रममा इन्सेक सहजकर्ता राजु मंग्रातीले इन्सेकले मानव अधिकारको क्षेत्रका निर्वाह गरेका भुमिका स्पष्ट पार्दै मानव अधिकार सवालमा स्थानिय समुदाय, नागरिकहरू एकताबद्ध भई सरोकारवाला समक्ष अधिकारको मागदावी गर्नु पर्ने बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेले इन्सेकको साथ र सहयोगमा मानव अधिकारका सवालमा समूहले आवाज उठाउँदै आएको बताउनु भयो ।
रमेश गिरी