मानव अधिकार समुह तथा स्थानीय निकायका कर्मचारीहरुका लागि मानव अधिकार तालिम सम्पन्न

कैलाली । २०७८ भदौ ४ गते

कियोस परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुह र स्थानीय निकायका कर्मचारीहरुका लागि आयोजना गरिएको दुई दिने मानव अधिकार तालिम भदौ ४ गते अत्तरियामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले मानव अधिकारको अवधारणा, बिकासक्रम, मानव अधिकार अपराध र उलङ्घनमा फरक, मानव अधिकार र सुशासन, मनव अधिकार समुहको काम, कर्तव्य तथा आचार संहिताको विषयमा सहजिकरण गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार तथा आर्थिक समाजिक तथा सास्कृतिक अधिकारको अनुगमन बिधि र प्रकृयाका बारेमा सहजिकरण गर्नु भएको थियो । गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले स्थानीय न्यायिक समितिले गर्ने कामका सन्द्रभमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । स्थानीय न्यायिक समितिले आगामी दिनमा मानव  अधिकार समुहसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धि समस्याहरुलाई समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहका संयोेजक नरदिप धामीले इन्सेकद्वारा आयोजित दुई दिने तालिमले  आफुहरुलाई मानव अधिकारका क्षेत्रमा काम गर्न सहज बनाएको बताउनु भयो । गोदावरी नगरपालिका सहायक महिला विकास निरीक्षक धना जोशीले इन्सेकले आयोजना गरेको तालिमबाट मानव अधिकारका विषयमा थप स्पष्ट भएको बताउँदै  तालिमबाट सिकेका शिपले महिला हिंसाको क्षेत्रमा काम गर्न सजिलो हुने बताउनु भयो । तालिममा मानव अधिकार समुहका पदाधिकारी र स्थानीय तहका शिक्षा, स्वास्थ्य, कृषि, पशु र महिला शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी