मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न

सम्तरी । २०८० कात्तिक २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित सभाकक्षमा ०८० असोज ३० गते मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । डाक्नेश्वरी नगरपालिकामा सम्पन्न बैठकले रामचन्द्र मण्डलको अध्यक्षतामा २३ सदस्यीय मानव अधिकार समूह पुनर्गठन गरेको सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो । बैठकले उपाध्यक्षमा अनुदेबी चौधरी, सचिवमा शिवप्रसाद चौधरी, सहसचिवमा मम्ता देवी ठाकुर, कोषाध्यक्षमा मुसा अन्सारी र कार्यक्रम व्यवस्थापनमा दिनेश प्रसाद खंग मण्डल रहनु भएको छ । डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले समूहले पहिचान गरेको समस्या समाधानका लागि यथाशिघ्र लाग्ने प्रतिबद्धता जनाउनु भयो । बालविवाहविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै बालविवाह मुक्त नगर घोषणाको सूचक पुरा गर्दै जाने योजनाका साथ अगाडि बढेको उहाँले बताउनु भयो । डाक्नेश्वरी नगरपालिका-६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुर जाने बाटो इन्सेकको सहयोगमा सुचारु भएको स्मरण गर्नुहुँदै प्रमुख मलाहाले प्रादेशिक क्षेत्रिय विकास कोषको लगानी भइसकेको १८ बर्षदेखि सुचारु डाक्नेश्वरी नगरपालिका ८ बिसहरीयास्थित बाटो बन्द गर्ने, सार्वजनिक ऐलानी पोखरीमा ठेक्का लगाउन नदिने कार्यले विकास अवरुद्ध भइरहेको बताउनु भयो ।

नगर उपप्रमुख मिरा कुमारी यादवले इन्सेक सँगको सहकार्यमा पहिचान भएको समस्या सम्बोधन गर्ने काममा समूहलाई पूर्णतया सहयोग रहने बताउनु भयो । मानव अधिकार हननका घटना न्यूनिकरणका लागि मानव अधिकार शिक्षा र जनचेतना अगाडि बढाइएको उहाँले बताउनु भयो । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले सिंगो नगरपालिकाको सबै वडाबीच समन्वय गरेर काम गरे सफलता प्राप्त हुने बताउनु भयो । स्थानीय तह मार्फत सम्बोधन हुने जनताको समस्या समाधानार्थ स्थानीय सरकार जिम्मेवार हुनु पर्ने पासवानले बताउनु भयो । इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले कानुनी ज्ञानको अभावमा न्यायसम्मको पहुँच टाढिने भएकोले समस्याबारे छलफल गर्न, राज्यबाट प्राप्त कानुनी र स्वास्थ्य सेवाबारे जानकारी लिन र समाधानको उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो । संवेदनशील मुद्दालाई प्राथमिकताका साथ न्यायको पहुँच सम्म पु¥याउन इन्सेकको हरहमेशा सहयोग हुने पोखरेलले बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र हिंसाजन्य घटनामा समूहको ध्यान केन्द्रित रहेकोले मानव अधिकार र सामाजिक न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा इन्सेक मधेस प्रदेशका सहायक अधिकृत बरूण बस्याल र सहजकर्ता अजय परियारले मानव अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण, हिंसा, विभेदसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानका लागि कार्ययोजना निर्माण गर्न सहजिकरण गर्नु भयो । 

मनोहरकुमार पोखरेल