मानव अधिकार सशक्तिकरण तालिम सुरू

सुर्खेत । २०७७ मङ्सिर १७ गते

 

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा दलित, सिमान्कृत र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम मङ्सिर १७ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरुवात गर्दै इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले सिमान्तकृत समुदाय दलित, लोपोन्मुख तथा यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि सोही समुदायलाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी सुशिल चौधरीले दलित, सिमान्तकृत, धार्मिक अल्पसंख्यक र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्नु भयो । तालिममा दलित, सिमान्तकृत, यौनिक अल्पसंख्यक र हिंसा पीडित महिलाहरुको सहभागिता रहेको छ ।

अधिकारकर्मी सुशिल चौधरीले सिमान्कृत समुदाय, दलित, मुस्लिम, यौनिक तथा लैङ्गिकसंख्यकहरूको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको विषयमा र बालिका चौधरीले मानव अधिकार वकालतका लागि सहकार्यात्मक नेतृत्वको विषयमा गर्ने इन्सेक कर्णाली प्रदेशका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिनु भयो । यस्तै पवित्रा शाहीले मानव अधिकार उपभोगमा सिमान्तकृत समुदायको चुनौति र प्राप्तिका रणनीतिहरू र नारायण विकले वीरेन्द्रनगर नपाको दलित समुदायको मुद्दा वकालतको रणनीति तथा परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सवाल वकालतका उपायहरूको बारेमा सहजीकरण गर्ने अधिकृत चौधरीले बताउनुभयो ।

दुर्गा थापा