मानव अधिकार सहायता कक्ष सञ्चालन र सुदृढिकरणसम्बन्धी छलफल सम्पन्न
कैलाली । २०७८ फागुन २७ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार सहायता कक्ष सञ्चालन र सुदृढिकरण विषयक छलफल कार्यक्रम फागनु २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले अधिकारको क्षेत्रमा अग्रपङ्तीमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुलाई सहयोग गर्न र मानव अधिकार उल्लङ्घन पीडितहरुको न्यायमा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
जिल्ला वार, कैलालीका अध्यक्ष सिद्धराज ओझाले आर्थिक अभाव र न्यायमा पुहँच नभएका पीडित तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुको अधिकार उल्लङ्घन भएको अवस्थामा सहायता कक्षमार्फत आर्थिक तथा आवश्यक अन्य सहयोग गर्न सकिने भएकोले पीडितहरुलाई न्याय प्राप्ती गर्न मदत पुग्ने बताउनु भयो । गैसस महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले गत वर्षदेखि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी रुपमा सञ्चालन र सुदृढिकरण गर्नका लागि सहायता कक्षमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफू कार्यरत क्षेत्रमा यसको बारेमा प्रचार प्रसार गरी न्यायको पहुँचमा पुग्न समस्या भएका पीडितहरुलाई सहयोग गर्न सकिने बताउनु भयो ।
पत्रकार माहासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेस रावलले इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघसस्थाहरुको सहभागिता रहेको सयुक्त समिति निर्माण गरी सहायता कक्षमार्फत पीडितको न्यायको पक्षमा सहयोग गर्दा पीडितले सहज रुपमा न्याय पाउन सक्ने बताउनु भयो । मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न गैसस महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनालको सयोजकत्वमा सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न संघसस्थाको प्रतिनिधित्व रहने गरी समिति समेत पुनर्गठन गरिएको छ ।
मैनामोती चौधरी