युवा समूहका सदस्यहरूका लागि नेतृत्व विकास तालिम सुरू

पाल्पा । २०७७ कात्तिक २० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा गठित जिल्ला स्तरीय युवा समूहको आयोजनामा बगनासकाली गाउँपालिका – ८ बराङदीमा कात्तिक २० गतेबाट दुई दिने युवा नेतृत्व विकास तालिम सुरू भएको छ । इन्सेक र नोरिकको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका – ८ का वडाअध्यक्ष गणेशप्रसाद बस्यालले युवा समूहले समुदाय स्तरमा गर्दै आएका रचनात्मक कार्यक्रमहरूबाट आफु प्रभावित भएको बताउनु भयो । उहाँले युवाहरुले गर्ने हरेक कार्यक्रमहरूमा स्थानीय सरकारको तर्फबाट पुर्ण सहयोग रहने समेत बताउनु भयो । अध्यक्ष बस्यालले समुदाय स्तरमा अहिले पनि बाल विवाह हुने गरेकाले यसको न्युनीकरणका लागि आवश्यक कार्यक्रम बनाउन युवा समूहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक शोबाकान्त न्यौपानेले युवा समूह मार्फत समुदाय परिवार नियोजन सम्बन्धी चेतना वृद्धिका लागि गरिएका प्रयासको  प्रशंसा गर्नुभयो । वडा सदस्य मिनप्रसाद न्यौपाने, रिताकुमारी भट्टराईले युवाहरूको नेतृत्वमा सामाजिक रुपान्तरणका प्रयास हुनु सराहनीय कार्य भएको बताउनु भयो । तालिममा परिवार नियोजन सङ्घ प्रवन्धक शोबाकान्त न्यौपाने, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, युवा अभियन्ता कला दाहाल, पत्रकार दयाराज न्यौपाने र एफके फेलो बरुण बस्यालले मानव अधिकार, युवा, नेतृत्व विकास लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो क । तालिममा युवा समूहमा आवद्ध २० जना युवाहरूको सहभागिता रहेको थियो ।

यज्ञमूर्ति तिमिल्सिना