








कास्की । २०७९ वैशाख ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकामा भएका सेवा र गतिविधि पारदर्शी रहने गरेको बताउनुभयो । प्रविधिमैत्री शिक्षामा पालिकाले जोड दिएको बताउदै विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्न आवश्यक पुर्वाधार र सामाग्री व्यवस्था गरिएको उहाँको भनाइ थियो । उहाँले कृषिलाई व्यवसायिक बनाउन एक घर एक करेसाबारी, हरेक किसानको घरघरमा सेवा प्रवाह गरिदै आएको बताउनुभयो । उत्पादन भएका तरकारीहरु खेर नजान दिनका लागि पालिकामा कोल्ड स्टोर सञ्चालन गरिएको उहाँको भनाइ थियो । रुपा अस्पतालका प्रमुख डा. ऋषिराज अधिकारीले कोभिड १९ सङ्क्रमणपछि रुपा स्वास्थ्य चौकीलाई आवश्यक उपकरणहरु प्रबन्ध गरी अस्पतालको रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले अस्पतालबाट करिब २ हजार जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी गराउनुभयो । उहाँ अनुसार अस्पतालले नेपाल सरकाले उपलब्ध गराएका औषधि बाहेक आवश्यकताका आधारमा अन्य औषधि पनि निःशुल्क प्रदान गर्दै आइरहेको छ ।
रुपा गाउँपालिका प्रशासन प्रमुख लोकनाथ पौडेलले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई कसरी नागरिकहरुलाई सहज रुपमा प्रदान गर्न सकिन्छ भन्ने विषयमा पालिका सचेत रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले अन्तरक्रियाबाट आएका गुनासोलाई पनि सम्बोधन गर्ने गरी आगामी कार्यक्रमहरु तय गरिने भनाई राख्नुभयो । पशु सेवा शाखाका अधिकृत बिमल सुवेदीले नागरिकहरुलाई सेवा प्रवाहमा सहज महशुस गर्ने गरी घरमै पुगेर पशु सेवा प्रदान गरिदै आएको बताउनुभयो । पशु नश्ल सुधार अन्तरगत वार्षिक ४ सय भन्दा बढी कृत्रीम गर्भादान गरिदै आएको उहाँले जानकारी दिनुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले नागरिकका अधिकारका सवालमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । उहाँले भौतिक विकास मात्रै नभइ मानवीय विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो । इन्सेकद्वारा रुपा गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहका अध्यक्ष तिलबहादुर खड्काले नागरिकलाई आफ्ना अधिकारका बारे सुसूचित गराउन समूहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मानव अधिकार समूह सदस्य शर्मिला खनालले मानव अधिकार समूह गठनपछि नागरिकहरुले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा सचेत बन्न लागेको बताउनुभयो । उहाँले पालिकाको तर्फबाट नियमित रुपमा अनुगमन हुन आवश्यक रहेको बताउनुभयो ।
समूहकै सदस्य देवि न्यौपानेले इन्सेकको कार्यक्रमका माध्यमबाट समाजमा बाहिर निस्केर अधिकारका बिषयमा बोल्न सक्ने बनेको बताउनुभयो । खाद्यान्न खरिद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेर्ने बानीको विकास भएको उहाँको भनाइ थियो । पालिकाबाट प्रवाह हुने सेवाबारे नागरिकहरुले नै थाहा नपाउने अवस्था रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजान उहाँले आग्रह गर्नुभयो । कार्यक्रमका एक सहभागी खस बहादुर गुरुङले अशक्त र अपाङ्ग नागरिकहरुले सहज रुपमा सेवा लिन सक्ने अवस्था नरहेको बताउदै त्यसलाई सुधार गर्न ध्यानाकर्षण गराउनुभयो । इन्सेक रुपा गाउँपालिका सहजकर्ता तिर्सना तिमिल्सिनाले वडा तहमा कार्यक्रम सञ्चालन गरेर त्यहाँबाट उठेका समस्यालाई समाधानका लागि गाउँपालिकामा जानकारी गराउने काम गर्दै आइरहेको बताउनुभयो ।
सुशन घिमिरे