वातावरण संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

कैलाली । २०८० कात्तिक १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालसँग वातावरणीय संरक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम कात्तिक १० गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चि प्रदेश संयोजक खडकराज जोशीले पछिल्लो समयमा भइरहेको जलवायु परिवर्तनका कारण कहिले अतिवृष्टी त कहिले अनावृष्टीका कारण मानवले स्वच्छ वातावरणमा बाच्न पाउनु पर्ने अधिकारबाट वञ्चित हुनु पर्ने अवस्थामा स्थानीय सरकारले निर्माण गरिएका नीति तथा कानुन बारे  नागरिकलाई जागरुक गराई कानुन कार्यान्वयनका लागि राज्यलाई दवाव दिन आवश्यक रहेको बताउनु भयो ।

  

फियान नेपालका संयोजक मुकुण्द रानाले राज्यले वातावरण संरक्षणसम्बन्धी निर्माण गरेका कानुनको कार्यान्वयन गर्नका लागि नागरिक समाज संघसंस्थाहरु मिलेर आवाज उठान गर्न आवश्यक रहेकाले मापदण्ड पुरा नगरी सञ्चालन गरिएका उद्योगहरुको अध्ययन गरी न्यायीक उपचारका लागि काम गर्नु आवश्यक रहेको बताउनु भयो । सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालका उपाध्यक्ष गोविन्द सापकोटाले कञ्चनपुर जिल्लाको बेलौरी नगापालिका—१० शिवनगरस्थित महाकाली सुगर मिल र  पुनर्वास नगरपालिका—२ स्थित भागेश्वर सुगर मिलबाट निस्केको केमिकलका कारण ५ सय बिघामा रोपिएको धान खेती नष्ट हुँदा स्थानीय किसानहरु समस्यामा परेको बताउनु भयो । गोदावरी नगरपालिकामा रहेका नदीहरुबाट गिट्टी वालुवाको उत्खननले चुरे क्षेत्र जोखिममा रहेकाले समयमा गोदावरी नगरपालिकालाई सचेत गराउन आवश्यक रहेको अधिकारकर्मी नरदिप धामीले बताउनु भयो ।

मैनामोती चौधरी