विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
धनुषा । २०७८ मङ्सिर ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा मङ्सिर ९ गतेबाट प्रदेश २ का जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । “घरैदेखि शुरु गरौँ, महिला विरुद्धको हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ आज र्याली, सभा तथा दीप प्रज्वलनको कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार इन्सेक प्रदेश २, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २, ओरेक नेपाल, एड्भोकेसी फोरम नेपाल लगायतको सङ्घसंस्थाको समन्वयमा महिला तथा बालबालिका मन्त्रालय प्रदेश २ को आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर ९ गते जनकपुरधाममा प्रभातफेरीको आयोजना गरिएको छ । जानकी मन्दिरबाट सुरु भएको प्रभातफेरी कार्यक्रमा देवीचोक, मिल्स एरिया हुँदै महिला तथा बालबालिका मन्त्रालय पुगेर सम्पन्न भएको हो ।
सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार इन्सेकसहित विभिन्न संस्थाहरुले मङ्सिर ९ गतेबाट जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेका छन् । राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका अधिकारकर्मीहरूले मङ्सिर ९ गते साँझ मैनबत्ति प्रज्ज्वलन गरी १६ दिने अभियान आरम्भ भएको घोषणा गरेका हुन् । समाजमा जागरण ल्याउने उद्देश्यले १६ दिनसम्म विशेष अभियान सञ्चालन गर्न विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम गर्न लागिएको हो । हिंसामा परेकाहरूलाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला समन्वय समिति, सिरहा, लहान, धनगढीमाई नगरपालिका, इन्सेक, मुक्ति नेपाल, ओरेक, दलित जनकल्याण यूवा क्लब, समग्र जनउत्थान केन्द्र, इह्रिकण लगायत सङ्घसंस्था तथा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल तथा महिला मानव अधिकार सञ्जालको संयुक्त आयोजनामा र्याली तथा अन्तरकृया कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रममा प्रदेश २ का कानुनमन्त्री प्रमोद यादवले कानुनहरु बनेको उल्लेख गर्नु हुँदै सबैले इमान्दार भएर बनाइएका कानुनको पालना गर्न आग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले महिलामाथि हुने हिंसाले समाजमा नकारात्मक असर पर्ने भएकोले सबैले महिलाको सम्मान गर्नु पर्ने बताउनु भयो । सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले स्थानीय तहले हिंसा रोक्न र महिलाहरुको विकासको लागि कार्यक्रमहरु तयार गरेको बताउनु भयो । लहान नगरपालिकाकी उपप्रमुख सरीयारकुमारी चौधरीले लहान नगरपालिकाले महिला हिंसा न्यूनीकरणमा जोड दिएको र न्यायिक समितिमार्फत न्याय सम्पादन गरेको बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आरेक, टिपिओ नेपाल र महिला सचेतना समूह लगायत जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाहरुको सहआयोजनामा मङ्सिर ९ गते जलेश्वरमा प्रभातफेरी र कार्यक्रमको आयोजना गरि लैङ्गिकि हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । कार्यक्रममा प्रदेश २ की सांसद शारदा थापाले महोत्तरीमा महिलाबाटै महिला पीडित भएको बताउनु भयो ।
जलेश्वरमा मङ्सिर ९ गते महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले परिवारमा सासूबाट बुहारी, बुहारीबाट सासू, भाउजूबाट नन्द र नन्दबाट भाउजू पीडित हुनु परेको घटनाहरु देखिने गरेको बताउनु भयो । राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले महोत्तरीमा केहि समययता महिला विरुद्धका विभिन्न जघन्य घटनाहरु भएका इएकोमा सबै निकाय यसप्रति गम्भीर भई यस्ता घटनाहरु पुनः हुन नदिन र भएका घटनाहरुका आरोपतितको पहिचान गरी कानुनी कठघरामा ल्याउन सचेत गराउनु भयो । वहाँले कथित बोक्सी आरोपमा महिलाको हत्या, अभक्ष कोच्याइएको, कुटपिट गरिएको घटनाहरुमा राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
उहाँले जघन्य प्रकृतिका घटनाहरुका दोषीलाई धरौटीमा छाडिदा पीडितमाथि अन्याय हुन सक्ने भएकोले यसप्रति सबै पक्ष गम्भिर हुनु पर्ने बताउनु भयो । कार्यक्रमका इन्सेक प्रदेश २ संयोजक राजु पासवानले महोत्तरी सहित प्रदेश २ मा बढ्दो महिला हिंसाका घटनाहरु, बलात्कार, कथित बोक्सी लगायतका घटनाले अझै महिलाहरुको हितमा धेरै काम गर्न तथा अभियानहरु चलाउन जरुरी रहेको बताउनु भयो । उहाँले सबै मिलेर यस्ता अन्धविश्वास र कुरुती विरुद्ध जोडतोडले लग्नु पर्ने र जनचेतना मुलक कार्यक्रमहरु लिएर वडा स्तरसम्म पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा महिला अधिकारकर्मी गुञ्जा रायले विगतका विभिन्न महिला विरुद्धको घटनाहरुलाई स्मरण गर्दै केहि घटनामा प्रहरीबाट समेत कमि कमजोरीहरु भएको देखिएकोले प्रहरी पीडितको न्यायको पक्षमा लाग्न आग्रह गर्नु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम