शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा । २०७७ माघ १९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेशको आयोजनामा पुतलीबजार नगरपालिका –१४ मा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्वर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्घि कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष शेषराज ढकालले इन्सेकले विगत लामो समय देखि गर्दै गरेको यस्ता कार्यक्रमले समाजमा रहेका सरोकारवालालाई झकझकाउने काम गरेको बताउनुभयो । उहाँले बदलिदो शिक्षाको परिस्थितीमा विद्यार्थीहरुलाई अझै प्रभावकारी ढङ्गबाट शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बलराम  ढोरङगाले पुतलीबजार नगरपालिका भित्र शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन भएको र आगामी वर्षमा पनि विभिन्न कार्यक्रमहरु बिनियोजन भएको जानकारी दिनुभयो । कार्यक्रममा उनले शैक्षिक सत्रको सुरुवातबाट नै कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित गराउन नहुने स्थानिय तहले निर्देशन गरेको बताउनुभयो । नगरपालिकाले विद्यार्थीहरुलाई सक्षम र सबल गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले इन्सेकले यस्ता सूचना र खबरदारीका कार्यक्रम गरिदै गर्दा धेरै सूचनाहरु प्राप्त हुने कुरा भन्नुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि आफ्ना विद्यालयमा भएका समस्याहरुको पहिचान गराएका थिए । समस्याहरु मध्ये विद्यालयमा सफा पिउने पानीको व्यवस्था, खेल मैदानको व्यवस्था हुनुपर्ने कुरा गरेका थिए । विद्यार्थीहरुले विद्यालयमा विभिन्न हुनसक्ने बालअधिकार हनन र हिंसाहरु बारेमा विषयमा छलफल गर्दा यस्ता गतिविधिहरु हाल विद्यालयमा नभएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पौडेलले विद्यालयमा दिवा खाजाको व्यवस्था भएपनि कुनकुनैै विद्यालयहरुले त्यसको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो । कार्यक्रममा छलफलको क्रममा विद्यालयका प्रधानाध्यापक.हिमलाल ढकालले विद्यालको जुनसुकै कार्यक्रममा पनि अभिभावकले चासो नलिने, आफ्ना छोराछोरीको बारेमा वास्ता नगर्ने, विद्यालबाट रिजल्ट लिन बोलाउदा नआउने र जङ्क फुड निषेध गर्न नसकेको कुरामा गुनासो गर्नुभएको थियो । ४९ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधि तिलकुमारी थापाले राख्नु भएको थियो भने कार्यक्रम को सञ्चालन सहजकर्ता सिर्जना थापाले गर्नुभएको थियो।

तिलकुमारी थापा