शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ पुस २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिक स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा पुस २२ गते शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम अत्तरीयामा सम्पन्न भएको छ । गोदावरी नगरपालिका—८ का वडाध्यक्ष नरेश अधिकारीले नगरपालिकाको शहरी क्षेत्रमा शिक्षा र स्वास्थ्यको अवस्था राम्रो भएपनि ग्रामिण क्षेत्रका नागरिकहरुले स्रोत साधनको अभावका कारण अझै पनि शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारबाट वञ्चित हुनु परेको समस्या रहेको स्विकार गर्नु भयो । दुर्गा भवानी माध्यामि विद्यालयका शिक्षक अमृताकुमारी चौधरीले विद्यालयमा प्राथमिक उपचारको व्यवस्था नहुँदा विद्यार्थीहरुले समस्या भोग्नु परेको बताउनु भयो । उहाँले विद्यालयमा अतिरिक्त क्रियाकलाप हुँदा बिभिन्न चोटपटक लाग्ने गरेको र विद्यालय मै विद्यार्थीहरु बिरामी पर्दा समेत प्राथमिक उपचार गर्ने व्यवस्था र सुविधा नभएको बताउनु भयो ।
समैजी माध्यामिक विद्यालयका प्रधानाध्यपक केशव बिनाडीले विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा नीजि स्रोतबाट १५ जना शिक्षक राख्नु पर्ने बाध्यता रहेको र विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण नीजि स्रोतबाट राखिएका शिक्षकहरुलाई समय मै तलब दिन समस्या भएको बताउनु भयो । अभिभावक बिन्तीराम चौधरीले राज्यले निःशुल्क शिक्षा प्रदान गर्ने भनेको भएपनि बिभिन्न बहानामा शुल्क असुली गरिरहेकाले आर्थिक विपन्न परिवारका बालबालिकाले विद्यालयमा शुल्क तिर्न नसकी बिचैमा बालबालिकाहरुले पढाई छोडेर भारत मजदुरी गर्न जाने गरेको बताउनु भयो ।
महिला स्वास्थ्य स्वयमसेविका टिका चौधरीेले स्वास्थ्य केन्द्रमा अझै पनि कोभिड–१९ विरुद्धको खोपको अभाव रहेको बताउनु भयो । महिला स्वास्थ्य स्वयमसेविका तुलसी मल्लले बर्थिङ्ग सेन्टरमा खानेपानी तथा अन्य स्रोतसाधानको अभावका कारण सुत्केरी गराउन आउनेहरुलार्ई अस्पताल पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । मानव अधिकार समुहका अध्यक्ष नरदिप धामीले मानव अधिकार समुहले नगरपालिकालाई शिक्षा र स्वास्थ्यको समस्याका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गर्दा पनि जनप्रतिनिधिहरुले कुनै चासो नदिएको गुनासो गर्नु भयो ।
मैनामोती चौधरी