शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा अन्तरक्रिया सम्पन्न

सल्यान । २०७७ पुस २३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यानको आयोजनामा पुस २२ गते वनगाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रममा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य, कृषि र आवासको व्यवस्थापनका विषयमा नगरपालिकामा दुईपटक ध्यानाकर्षण पत्र बुझाइ सकेको भएपनि ती विषयमा सम्बन्धित नगरपालिकाले ध्यान नदिएको र कार्यान्वन नभएको सरोकारवालाहरूले गुनासो गरेका छन् । दरवन्दि नहुँदा विद्यालयहरूनै बन्द हुने अवस्थामा पुग्दा समेत नगरपालिकाले चासो नदिएको स्थानीय शिक्षक पुष्कर बिसीले बताउनुभयो । अन्य जिल्लाहरूमा निुशल्क शिक्षा प्रदान गर्न स्थानीय सरकारले स्वयम सेवक शिक्षकको व्यवस्था गरी सकेको भन्दै बिसीले यस नगरपालिकाले पनि समस्या समाधानका लागि वैकल्पिक उपाएहरू अपनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा अर्का शिक्षक हिरारालाल गौतमले शिक्षा, स्वास्थ्य नीति प्रयोगमा नहुँदा यस क्षेत्रमा उत्साहजनक रूपमा काम नभएको बताउनुभयो । विद्यालयहरूमा सरकारले सेनेटरी प्याडको लागि वजेट निकासा गरे पनि प्याड खरिद गर्न नस्कदा विद्यालयमा स्यानेटरी प्याड उपलब्ध हुन नसकेको बताउनुभयो ।

नगर उपप्रमुख मञ्जु यरीले सबै क्षेत्रमा नगरको तर्फबाट भएका प्रगतिका बारेमा जानकारी दिँदै मानव अधिकार समूहले केही समय अघि ध्यानाकर्षण गरेका सबै काम पूरा हुन नसके पनि केही काम भैरहेको जिकिर गर्नुभयो । वनगाड कुपिण्डे नगरपालिकाको शिक्षा शाखाका धुर्व थापा, स्वास्थ्य शाखाका सन्तोषी रावत, कृषि शाखाका टीका जैसी, महिला बालबालिका शाखाका लक्ष्मी शाहीले सरोकारवालाले राखेका सवालको जवाफ दिनुभएको थियो । सो अवसरमा सरोकारवालाहरूले सबै भन्दा शिक्षामा निकै कठिनाइ भएको गुनासो गरेका थिए । इन्सेक कर्णाली प्रदेश कार्यालयका इएलपी परियोजनाका कार्यक्रम फोकल पर्सन दिलवहादुर चौधरीले परियोजनाको कार्यबारे जानकारी गराउनु भएको थियो । इन्सेक सल्यानका सहजकर्ता रामचन्द्र रेग्मीले परियोजनाले नगरपालिकामा सम्पन्न गरेका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

मिना बुढाथोकी