शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न
कपिलवस्तु । २०७७ असोज २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह बाणङ्गाको अयोजनामा असोज २८ गते वाणगङ्गा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माध्यमिक तहसम्म निशुल्क र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाउने गरेको विद्यालयमा रहेका रिक्त दरबन्दी मिलानमा समस्या देखिएको, कतिपय विद्यालयहरुमा स्वच्छ खानेपानी तथा सरसफाईको अभाव रहेको गुनासो सहभागीहरूले गरेका थिए ।
यसैगरी स्वास्थ्य चौकिहरुमा प्रयाप्त औषधि नहुनु, अस्पतालमा सुत्केरी प्रत्साहन भत्ता साउन देखि नपाएको ,स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाले सेवा सुविधा न्यून दिएको, नगरपालिकाले निशुल्क वितरण गरेको क्यासियम चक्की गुणस्तरहिन भएको गुनासो गरेका थिए । बजार अनुगमन प्रभावकारी नभएको, दर्ता नगरी विभिन्न उद्योग सञ्चालन भएका ,म्याद नागेका बस्तु वितरण हुने गरेको , किसानहरुले समयमा मल विउ नपाएको, माटो परीक्षण नभएको लगायतका समस्या उठेका थिए । बाणगङ्गा नपाका मेयर मंगलप्रसाद थारुले नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएको र बाँकी विकासका कार्यलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउने स्पष्ट पार्नुभयो । यस्तै शिक्षा, स्वास्थ्य, खाध्य र आवास जस्ता आधारभुत आवस्यकताहरू पुरा गर्ने तर्फ नगरपालिकाले बजेट विनियोजन गरेको बताउनु भयो ।
पार्वती आचार्य