शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न
कैलाली । २०७७ चैत २ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाइ गोदावरी नगरपालिकामा चैत ३ गते सम्पन्न भएको छ ।कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको सवालमा गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रम र त्यसको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे स्थानीय नागरिकहरु सचेत हुन आवश्यक रहेको र स्वास्थ्य चौकीमा सीटामोल समेत नपाएको उपभोक्ताको निबेदन समेत पढेर सुनाउनु भएको थियो ।
गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले गोदावरी नगरपालिकालाई ग्रीन नगरपालिका बनाउन कृषी क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान प्रदान गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र आवासमा बादी, दलित अतिविपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्ने कार्यक्रम रहेको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख बिरबहादुर कुवँरले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि नीति नियम अनुसार कार्यक्रम सञ्चालन गरिरहेको र सबै स्वास्थ्य चौकीमा ३३ प्रकारका निःशुल्क औषधीको व्यवस्था गरिएको जानकारी गराउनु भयो ।
स्थानीय टेकबहादुर देउवाले नगरपालिका र मानव अधिकार समूहले संयुक्त रुपमा शिक्षा र स्वास्थ्यको अनुगमन गर्नु पर्ने बताउनु भयो । स्थानीय लक्ष्मी नेपालीले आफ्नो खरको छानो भएको सानो झुपडी रहेकाले कुनै जनप्रतिनिधिले नहेरेको र आफू बेरोजगार हुँदा बालबच्चा बढाउन समस्या भएको गुनासो गर्नु भयो ।
महिला स्वास्थ्यकर्मीले गोदावरी नगरपालिका—८ मा रहेको प्रसूति गृह पुग्नका लागि बाटोको सुबिधा नभएका कारण सुत्केरी गराउन नआउनुले प्रसूति गृह सुनसान रहेको बताउनु भयो । मानव अधिकार समूहका संयोजक नरदिप धामीले स्थनीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफ देही बनाउन आफूहरु निरन्तर रुपमा लागि परेको बताउनु भयो ।
मैनामोती चौधरी