शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिरहा । २०७८ असार २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २० गते सखुवानन्कारकट्टी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम समपन्न गरिएको छ । सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले सार्वजनिक सुनुवाइ कार्यक्रमले गाउँपालिकाको नीति निर्माण तथा कार्ययोजना कार्यान्वयनमा गाउँपालिकालाई सचेत हुन तथा मानव अधिकारमैत्री योजना बनाउन सघाउ पुग्ने बताउनु भयो । जनताको इच्छा आवश्यकता धेरै रहेको तर गाउँपालिकाको श्रोत साधन कम रहेकाले आवश्यकताहरू एकैपटक पुरा गर्न नसकिने बताउँदै थप आवश्यकता विस्तारै पुरा गर्दै जाने वहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । आर्थिक वर्ष २०७८/०७९ को बजेट ३१ करोड ९४ लाख रुपियाँ भए पनि १४ करोड रुपियाँ शिक्षा, स्वास्थ्य, कृषिलगायतका कर्मचारीको तलब, औषधि तथा पाठ्यपुस्तकमै खर्च हुने हुँदा बाँकी रकम विकास तथा अन्य योजना कार्यान्वयनमा लगाउँदा सबै तिर विकास गर्न असमर्थ भएको उहाँको भनाइ थियो ।
गाउँपालिकामा कोभिड अस्पताल दुई ओटा, बर्थिङ्ग सेन्टर, जनता आवास अन्तर्गत गरिबहरूका लागि घर आदिको काम गरिएको र अगामी दिनहरूमा स्वास्थ्य चौकीमा ल्याब सहितको सुविधा प्रदान गर्ने गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसोर महतोले शिक्षा, स्वास्थ्य जस्ता अधिकारहरु मौलिक हकमै व्यवस्था भएको र स्थानीय तहले पनि हकको प्रत्याभूति गराउन आफ्नो क्षमता अनुसार लागी परेको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखा संयोजक हरिनारायण चौधरीले वडा नं. १ र ५ मा स्वास्थ्य चौकीको आफ्नै भवन भएपनि अन्य वडामा आफ्नो जग्गा र भवन नभएकोले स्वास्थ्य सेवा सञ्चालनमा प्रभाव परेको बताउनु भयो । कृषि शाखाका संयोजक राजदेव यादवले सबै वडामा सहकारीमार्फत खाद्य, मल, बिउ तथा औजारहरू प्रदान गरेको बताउनु भयो ।
महदेवा पोर्ताहा माविका प्रधानाध्यापक घुरन यादवले माविमा एक जना मात्र दरबन्दी रहेको, डेस्क बेन्च तथा पुर्वाधार कमी रहेको बताउनु भयो । वडा नं. ४ की भगवती पौडेलले विद्यालयहरूमा गुणस्तरीय पढाइ नभएका कारण विद्यार्थीहरूलाई राम्रोसँग पढ्न लेख्नसम्म पनि नआउने गरेको बताउनु भयो । विद्यार्थी दुर्गा यादवले विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएको र निषेध आदेशका समयमा वैकल्पिक माध्यमबाट पढ्ने व्यवस्था नभएको बताउनु भयो । वडा नं. १ की उषा कर्णले स्वास्थ्य चौकीहरूमा डाक्टरले उपचार नगरेको र औषधि सकिएको भनी नदिने गरेको बताउनु भयो । दलित, गरिबहरूको घर नहुँदा वर्षामा अरुको घरमा बस्न बाध्य भएको उहाँले बताउनु भयो । स्थानीय रहमुल राइनले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव रहेको बताउनु भयो । सबैलाई एक समान व्यवहार गर्न र दलित आवासको योजना ल्याउन गाउँपालिकाका अध्यक्षलाई उहाँले आग्रह गर्नु भयो ।
दुर्गा परियार