शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
सल्यान । २०७८ असोज २० गते
इन्सेकद्वारा सञ्चालित (इएलपी) परियोजना अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा शारदा नगरपालिकामा असोज १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहभागीहरूले सबै नागरिकहरू शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रमा अधिकारबाट बञ्चित हुनु परेको गुनासो गरेका छन् । गरिबीका कारण आर्थिक अवस्था कमजोर हुने र यसैको कारण नागरिकहरू शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारबाट बञ्चित हुनु परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उहाँले गरिबीले अपराध र हिंसाजन्य घटनासमेत बढ्ने गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले संविधानले ग्यारेन्टी गरेको अधिकारबाट नागरिकहरू बञ्चित हुन नहुने बताउनुभयो । उहाँले संविधानले दिएको नागरिकको अधिकार प्राप्तीका लागि सबै क्षेत्रले काम गर्नुपर्ने भनाइ राख्नुभयो । यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले सल्यान जिल्ला अस्पतालमा देखिएका स्वास्थ्य सम्बन्धिका समस्या समाधानको लागि पहल गरिने बताउनुभयो । हाल अस्पतालमा स्वास्थ्यकर्मीको कमीका कारण सेवा प्रवाहमा समस्या देखिएको र यस समस्या समाधानका लागि आफू लागि परेको बताउनुभयो ।
कार्यक्रममा शारदा नगरपालिकाका उप–प्रमुख साबित्रा बस्नेतले शिक्षा, स्वास्थ्य, खाद्य र आवासलाई प्राथामिकता दिएर नगरपालिकाले काम गरिरहेको जिकिर गर्नुभयो । इन्सेकले मानव अधिकारसँगै अन्य मौलिक हकका विषयमा पनि पटक पटक आवाज उठाउँदा आफूहरूलाई थप जवाफदेही बनाएको उहाँको भनाइ थियो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा उठेका सवालका विषयका कार्यपालिकाको बैठकमा लगेर समाधानका लागि पहल गर्ने बताउनुभयो । मानव अधिकार समूहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा इन्सेक सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
मिना बुढाथोकी