शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
जाजरकोट । २०७७ कात्तिक २२ गते
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य , खाद्य र आवास सम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायहरुलाई जवाफदेही र उत्तरदायी बनाउन कात्तिक २१ गते छेडागाड नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नारायणी माविका प्रधानाध्यापक गणेश कुमार बस्नेतले स्थानीय स्तरमा पठन पाठनका लागि स्थानीय पाठ्यक्रमको विकास गरिनु पर्ने र फरक क्षमता भएकाको लाागि सोही अनुसारको पाठ्य सामग्री निर्माण गरिनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
विद्यालयमा निशुल्क शिक्षा भनियता पनि विद्यालय सञ्चालनका लागि आर्थिक अभाव हुने भएकाले स्थानीय सरकारले वैकल्पिक व्यवस्था गरी विद्यार्थीबाट शुल्क नलिने व्यवस्था मिलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी छेडागाड नगरपालिका–१३ का अध्यक्ष मोतिलाल खत्रीले विद्यालयको पठन पाठनलाई गुणस्तरीय बनाउन, खाद्यान्न अभाव पुर्तिको व्यवस्था र आवास नहुनेलाई सो को व्यवस्था गर्न स्थानीय सरकारको ध्यानाकर्षण भएको र यस विषयमा छलफल भइरहेको बताउनु भयो ।
यस्तै छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलीले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था, महिलामैत्री शौचालय निर्माणको लागि नगरकार्यपालिकाले निर्णय गरिसकेको जानकारी दिनुभयो । उपप्रमुख वलीले खाद्यान्न अभावलाई परिपुर्ति गर्न नगरपालिका भित्र २ वटा स्थानमा खाद्य डिपो स्थापना गर्ने र आवास नहुनेका लागि पनि घर बनाउन सहयोग गर्ने निर्ण भैसकेको बताउनु भयो ।
दिनेशकुमार श्रेष्ठ