शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सावालमा टेलिभिजन सम्वाद
कालीकोट । २०७८ चैत १७ गते
खाँडाचक्र नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना तथा नेपाल टेलिभिजन प्रसारण केन्द्र कोहलपुरको सहकार्यमा चैत १७ गते मान्ममा सम्पन्न गरिएको छ । इन्सेक कर्णली प्रदेशद्वारा खाँडाचक्र नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवासका आधिकार अभिवृद्धि परियोजना अन्तर्गत टेलिभिजन सम्वाद कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्थालाई सुधार गर्न, जिम्मेवार निकायलाई जबाफदेही बनाउने, नागरिकका दैनिक जीवनसँग जोडिएका विषयमा वकालत गर्न कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा खाडाचक्र नगरपालिका–१ की लक्ष्मी वादीले ६२ वर्षको उमेरमा इन्सेकको सहयोगमा नागरिकता बने पनि बिहान बेलुका छाक टार्न मुस्किल भएको गुनासो राख्नु भयो ।
मानव अधिकार समूह खाँडाचक्रका सचिव कपुरे विश्वकर्माले नगरपालिकामा खेताला शिक्षक राख्ने प्रथा कायमै रहेको, प्रविधिक जनशक्तिको अभाव रहेको, दक्ष जनशक्ति पाठ्य पुस्तकको अभाव लगायतका समस्या रहेकाले नगरपालिकाले समाधान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा आफ्नो प्रतिबद्धता राख्दै नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले नागरिकका समस्या समाधान गर्न र कार्यक्रममा उठेका सवालहरूको तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । बजार अनुगमन नभएको, अखाद्य वस्तुको विक्री वितरण भएको, अव्यवस्थित मासु पसलका विषयमा अनुगमन गरी व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भयो । जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख कटक महतले स्वास्थ्य क्षेत्रमा उठेका सवाललाई गम्भीर रूपमा लिँदै उचित सम्बोधन गर्ने धारण राख्नु भयो ।
कालीबहादुर मल्ल