शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजानिक सुनुवाइ सम्पन्न
तनहुँ । २०७९ जेठ ३१ गते
इन्सेकले जेठ ३१ गते भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाल बारेमा सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष मिनबहादुर गुरुङले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । उहाँले नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गरिरहेको हुँदा त्यसक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयलाई प्राथमकिताका साथ राखी कार्यान्वयन गर्न सुझाव दिने बताउनु भयो । यी विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा भानु नगरपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । वडा अध्यक्ष गुरुङले आफुहरू भर्खरै मात्र स्थानीय तहमा जिम्मेवारी लिएर आएको भन्दै उनले यस अघि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा के कस्ता कामहरु भएको छ भन्ने बारेमा बुझेर थप गर्न सकिने विषयलाई आफ्नो तर्फबाट उठान गर्ने बताउनु भयो ।

नगरपालिकाले कार्यान्वयन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम तथा योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले मानव अधिकार समुहको पटक पटकको ध्यानाकर्षण पछि आफुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उल्लेख्य कार्यक्रमहरु समावेश गरेको बताउनु भयो । ज्येष्ठ नागरिकलाई घरै दैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन, स्वास्थ्य र सरसफाईलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामूहिक सरसफाईको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा सिताके च्याउ खेतीलाई जोड, बिउ बिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनीकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सञ्चालन गरिएको पाण्डेले बताउनु भयो । पाण्डेले खरको छानो मुक्त नगरपालिका घोषणाको तयारीमा रहेको जानकारी दिनु भयो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी विषय कुनै एक संस्थाले दबाब दिनु पर्ने विषय भन्दा पनि नगरपालिका आफैँले यसलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नु पर्ने उहाँहरूको भनाइ थियो ।
प्रकाशचन्द्र भट्टराई
HUMAN RIGHTS NEWS PORTAL






