नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि माध्यमिक विद्यालयका कक्षा नौ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियान अन्तर्गत विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम ०८३ भदौ ३ गते सम्पन्न भएको छ ।
सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखनको जोखिमसमेत बढेको कारण सोको दुरुपयोग सम्बन्धमा सचेत गराउने उदेश्यले आफन्त नेपाल धनुषाको आयोजना तथा इन्सेक, नगराइन नगरपालिका–२ को वडा कार्यालय र इलाका प्रहरी कार्यालय जटहीको समन्वयमा विद्यार्थीलाई मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल अधिकार, लागूऔषध तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जानकारी दिइएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विनय यादवले सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य र सीप विकासलाई प्राथमिकता दिएर अघि बढ्न विद्यार्थीलाई सुझाव दिनुभयो। उहाँले बालबालिका तथा युवाको विकासका लागि नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र सीप विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नगराइन नगरपालिका–२ की कार्यवाहक वडा अध्यक्ष रामपरी देवी मण्डलले शिक्षा र अनुशासनलाई प्राथमिकता दिन तथा लागूऔषधको कुलतबाट टाढा रही भविष्य निर्माणमा एकाग्र रहन भन्नुभयो।

आफन्त नेपाल धनुषाकी जिल्ला संयोजक अमृता घिमिरेले रोजगारीको प्रलोभन, प्रेमको बहाना तथा सामाजिक सञ्जालमार्फत युवती तथा बालबालिका बेचबिखनमा पर्ने जोखिम रहेको बताउनुभयो। उहाँले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा हुने सम्पर्क र त्यसबाट आउन सक्ने प्रस्तावप्रति सजग रहन विद्यार्थीलाई भन्नुभयो।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बालअधिकार, बाल संरक्षण र बाल सहभागिताका विषयमा जानकारी दिँदै संविधान तथा बालअधिकारसम्बन्धी महासन्धिले सुनिश्चित गरेका अधिकारबारे विद्यार्थीलाई अवगत गराउनुभयो। उहाँले आफ्नो अधिकारबारे जानकार हुँदै अधिकार हनन् भएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्नुभयो।
त्यसैगरी इलाका प्रहरी कार्यालय जटहीका हवल्दार उपेन्द्रकुमार यादवले लागूऔषधको जोखिमबाट बच्दै अध्ययन र भविष्य निर्माणमा ध्यान दिन सुझाव दिनुभयो।विद्यालयका शिक्षक सुन्दर पण्डितले विद्यार्थीले मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल अधिकार र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे उपयोगी जानकारी प्राप्त गरेको बताउनुभयो।
सम्पन्न उक्त सचेतना कार्यक्रममा नगराइन नगरपालिका नगरप्रमुख, २ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष , शिक्षक एवं विधार्थिहरुको उपस्थिति रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL







