सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सुनसरी । २०७८ वैशाख १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले भोक्राहा नरसिंह गाउँपालिकामा गठन गरेको मानव अधिकार समूहको आयोजनामा वैशाख १७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । इन्सेकको सहयोग, मानव अधिकार समूहको समन्वय र भोक्राहा नरसिंह गाउँपालिकाको संयोजनमा वैशाख १७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । सेवाग्राही र सरोकारवालाबिच भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा राजनीतिकर्मी मनोज यादवले माध्यमिक विद्यालय तहको कक्षामा शिक्षकको अभाव रहेकाले रिक्त स्थानमा शिक्षकको व्यवस्था गर्न माग गर्नुभयो ।
सरकारी स्वास्थ्य संस्था र विद्यालयमा बजेट बढेर आएपनि गुणस्तरमा कुनै सुधार नआएको अभिभावक सेराज हुसेनले गुनासो गर्नुभयो । उहाँले सरकारी संयन्त्रलाई सुधार गर्नु पर्नेमा जोड दिनुभयो । अधिकारकर्मी मुर्सिद आलमले धेरैजसो सरकारी सूचनाहरू नागरिकसम्म नपुगेको गुनासो गर्नुभयो । उहाँले कृषि, पशु, स्वास्थ्य संस्था र विद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको गुनासो गर्नुभयो । कार्यक्रममा समूहका कार्यवहाक अध्यक्ष मुर्सीद आलमले गाउँपालिकामा ०७६ कात्तिकदेखि गठन भएपछि हालसम्म समूहले मानव अधिकार रक्षाको वकालत गर्दै आएको बताउनु भयो । भोक्राहा नरसिंह गाउँपालिकाको वडा–१ देखि वडा–८ सम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी इन्सेकद्धारा सञ्चालित“स्थानीयलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहको गठन भएको मुर्सीदले बताउनु भयो ।
मानव अधिकार समूहले भोक्राहा नरसिंहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारका सवालमा अनुगमन गरी सेवाग्राहीहरूसँगको प्रत्यक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा वडास्तरीय गोष्ठी कार्यक्रम सञ्चालन गरिएको मुर्सीदले बताउनु भयो । मानव अधिकार समूहले राखेका मागहरू र केही मागसहितको ज्ञापनपत्र समूहले बुझाएकाले पािलकाबाट सम्बोधन हुने क्रममा रहेको मुर्सीदले बताउनु भयो । मानव अधिकार समूहको कार्यक्रमका प्रभावका कारण भएका उपलब्धिहरूमा भोक्राहा नरसिंह गाउँपालिकाको आठ ओटै वडामा स्वास्थ्य संस्था स्थापना भएको, शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्नेमा माग गरेकोमा जनता मावि शिवगञ्जमा एक जना मावि शिक्षकको व्यवस्था भएको, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरी जवाफदेहिता र नियमितताका लागि सुझाव दिएकाले केही स्थानमा अनुमगन भएको , भोक्राहा नरसिंह गाउँपालिकाका कृषकहरूलाई रसायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्नेमा माग गरेकोमा विज प्रयोगशाला भवन अकाहामा निर्माणको चरणमा रहेको अध्यक्ष शोभा मेहताले बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी नारायण मावि र वडा–३ को जनता माविमा गाउँपालिकाले मावि पठनपाठन सुरु गर्न सहयोग गरेको, सामुदायिक विद्यालयसगैँ मदर्साका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने भनेको त्यसमा पहल भएको छ । सार्वजनिक सुनुवाइमा मानव अधिकार समूहको सम्पन्न गरेको वार्षिक कार्यक्रमहरूका विषयमा जानकारी गराइएको थियो । मानव अधिकार समूहको नियमित बैठक चार ओटा पाकिलास्तरीय समस्या र सरोकारवाला पहिचान कार्यक्रम एक ओटा, मानव अधिकार गोष्ठी अभियान वडास्तरीय चार ओटा, स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया एक ओटा, शिक्षा अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया एक ओटा, खाद्य अधिकार सम्व्न्धी सरोकारवालासँग अन्तरक्रिया एक ओटा र आवास अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया एक ओटा सम्पन्न भएको विषयमा जानकारी गराइएको छ ।
जयकृष्ण यादव