स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न

चितवन । २०७९ फागुन १४ गते

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत ०७९ फागुन १२ गते चितवनको इच्छाकामना गाउँपालिका-३ मा स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण जस्ता समस्या इच्छाकामना गाउँपालिकामा रहेकाले यस्ता समस्यालाई उजागर गर्नका लागि मानव अधिकार समुहले कार्ययोजना बनाई काम गर्ने मानव अधिकार समूहको सदस्य पार्वती गिरीले बताउनु भयो । बाल मैत्री तथा अपाङ्ग मैत्री विद्यालय नभएको, वडापत्रमा निशुल्क भनी उल्लेख गरिएका औषधिहरू नपाइने गरेको, स्वास्थ्य चौकीमा कर्मचारी समयमा नआउने र विद्यालयमा शिक्षकहरू समयमा नआउने गरेको गिरीले जानकारी दिनुभयो ।

 

बैठकको प्रमुख अतिथि गाउँपालिकाको ३ नम्बर वडा सदस्य सरिता गुरुङ रहनु भएको थियो । साथै आर्थिक अवस्था कमजोर भएका बालबालिका विद्यालय जानबाट वञ्चित भएको गुरुङले बताउनु भयो । चेपाङ समुदायमा खाद्यान्नको अभाव रहेको भनी बैठकमा छलफल भएको थियो । कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरी र इन्सेक बागमती प्रदेश कार्यक्रम अधिकृत बालुका न्यौपानेले गर्नुभएको थियो ।

दिपेन्द्र अधिकारी