स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न

चितवन । २०८० कात्तिक २३ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत ०८० कात्तिक २२ गते चितवनको कालिका नगरपालिकामा-८ मा स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकमा कालिका नगरपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा यहाँको प्रमुख समस्या फोहोर मैला जथाभावि हुँदा नगरपालिकाबाट नउठाउँदा समस्या भएको, प्रत्येक सामुदायिक विद्यालय, सार्वजनिक स्थलहरूमा कुहिने नकुहिने फोहोर सङ्कलनका लागि डस्बिनको आवश्यकता रहेको, गुणस्तरहिन वस्तु तथा कालो बजारी पहिचानका लागि हाट बजार तथा पसल अनुगमनको आवश्यकता, नदिनालाका छेउछाउ तथा खुल्ला ठाउँका फोहोर व्यवस्थापनका लागि समुदायमा असर नपर्ने गरी ठाउँको व्यवस्था गर्नु पर्ने बारेमा छलफल भएको थियो । त्यस्तै उक्त बैठकमा खोलेसिमल नगरपालिका कार्यालयदेखि शत्तिखोर सम्मको बाटोका ठाउँ ठाउँमा सिसिटिभिको जरुरत रहेको, दुर्घटना परेर सवारी भाग्ने गरेको हुनाले स्थानीय तहले निगरानी बढाउन आवश्यकता रहेको, टोल, वडा, स्थानीय तहमा महिलाहरूलाई सीपमुलक तालिमको आवश्यकता रहेको, अहिले सोझा गाउँलेहरूलाई रोग निको हुन्छ भन्दै एउटा समूहले (सच्चाइ धर्म) अस्पताल जान पर्दैन हामी कहाँ आउनु भन्दै हिँडेर घरघरमा जम्मा हुन्छन् भन्नलाई सत्सङ गरेको भन्छन तर त्यसको भित्रि रहस्य पत्ता लगाउन पर्ने र प्रशासनलाई खबर गर्नु पर्ने, नीय तहभित्र चोरी निकासी कम नभएकोले सम्बन्धित क्षेत्र, ठाउँहरूमा नीय तहले निगरानी बढाउनु पर्ने आवश्यकता भएको, शिक्षा र स्वास्थ्यलाई नगरपालिकाले विशेष प्राथमिकतामा नराखेको हुँदा समस्या भएको, कालिका नगरपालिकाको सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि सवालमा कालिका नगर शिक्षाले शुन्य अवस्थादेखि शैक्षिक सुधारको क्षेत्रमा ठोस कदम नचालेको समस्याहरू पहिचान भएको थियो ।

 

कालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चित्र बहादुर गुरुङले कालिका नगरपालिका भित्र चोरी, तस्करी, अवैध तथा अनैतिक क्रियाकलाप बढ्दै गएको हुँदा यस्ता क्रियाकलापमा कमि ल्याउनका लागि सम्बन्धित स्थानहरूमा सिसिक्यामेराको आवश्यकता अनिवार्य रहेको बताउनु भयो । उहाँले यस्तै किशोर अवस्थामा प्रवेश गर्दै गरेका र किशोर अवस्था उमेर भित्र रहेका बालबालिकाहरू लागु पदार्थ दुर्व्यसनबाट जोगाउनका लागि अभिभावक, शिक्षक र महिला तथा बालबालिका शाखाबाट विभिन्न प्रेरणादायी तालिम, अवसर र सही निर्देशनका विषयमा लक्षित गरी उक्त उमेरका बालबालिकाहरू सहभागिता गराउनु पर्ने बताउनु भयो । कालिका नगरपालिका-८ को सभाहलमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू, राजनीतिक दलका व्यक्ति, स्थानीय तहका कर्मचारीहरू आदिको सहभागिता रहेको थियो । यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामी कार्ययोजनामा उक्त स्थानमा भएका समस्या सुधार ल्याउनु पर्ने पक्षहरूको विविध छलफल भएको थियो । कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

दिपेन्द्र अधिकारी