स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा । २०७७ कात्तिक ३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा  पुतलीबजार नगरपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम अरोज ३० गते गरिएको छ । मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तरगत सम्पन्न गरिएको उक्त कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रम र गत आर्थिक वर्षमा सम्पन्न भएको क्रियाकलापहरू बारे छलफल भएको थियो ।

कार्यक्रमको  प्रमुख अतिथिको पनि रहनुभएको जिल्ला न्यायधीश सिता शर्मा अधिकारीले मानव अधिकार भित्र स्वास्थ्य मौलिक अधिकार रहेको जानकारी गराउँदै लागुऔषधी, यसको वेफाइदा र दण्ड सजाय सम्बन्धी प्रष्ट पार्नुभएको थियो । उहाँले अन्य विविध कारणले पनि नागरिक स्वास्थ्यमाथि समस्या भएको र समस्या समाधान गर्न तर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा करेनडाँडा स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी कल्पना पौडेलले नगरपालिकाले तय गरेको नीति र स्वास्थ कार्यक्रम तथा बजेट बिनियोजन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिवेदनमा कोभिड – १९ ले निम्त्याएको समस्या र यसबाट बच्ने उपाय र नगरपालिकाले कोभिडको लागि चालेका कदमहरू,नगरपालिकामा तयार गरेको आइसोलेशन र क्वारेण्टाइनको सङ्ख्या र अवस्थाको बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा उहाँले स्वास्थ्य चौकीबाट प्रेसर र सुगर रोगको पनि औषधी निःशुल्क पाइनेसाथै गर्भवती महिलाले स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराएमा, स्वास्थ्य चौकी र वडाबाट उक्त महिलाले सिफारिस ल्याएमा हस्पिटल निः शुल्क पठाइदिने व्यवस्था भएको जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित पुतलीबजार वडा नम्बर ११ का वडा सदस्य मनोज पौडेलले इन्सेकद्वारा सञ्चालित कार्यक्रम अत्यन्तै सचेतना मुलक भएको र यस्ता प्रभावकारी कार्यक्रम अझै  धेरै गर्नुपर्नेमा जोड दिनुभएको थियोे । मानव अधिकार समूह संयोजक तारक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २४ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सहजकर्ता सिर्जना थापाले गर्नुभएको थियो ।

तिलकुमारी थापा