स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सुनसरी । २०७८ माघ ५ गते
कोशी गाउँपालिकाका सरोकारवालाहरूले स्वास्थ्य संस्थामा नि:शुल्क औषधि र सेनिटरी प्याड नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगरको आयोजना तथा कोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा माघ ५ गते मानव अधिकार समूहको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य अधिकार सम्बन्धीको अन्तरक्रियामा सरोकारवालाहरूले स्वास्थ्य संस्थामा अभाव हुने औषधिको पूर्ण आपूर्ति हुनु पर्ने‚ स्वास्थ्यकर्मीहरूले नियमित सेवा प्रवाह गर्नुपर्ने र स्वास्थ्य संस्थाबाटै किशोरी तथा महिलाका लागि सेनिटाइजर प्याड उलब्ध गराउनु पर्ने माग गरेका हुन् ।
मानव अधिकार समूहका सदस्य राजकुमार शर्माले स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको‚ स्वास्थ्यकर्मीबिच तालमेल नमिलेको लगायतको समस्या रहेकाले त्यसमा सुधार गर्नु पर्ने सुझाव दिनुभयो । मानव अधिकार समूहकी सदस्य चन्द्रकला नेपालले गाउँपालिकाको स्वास्थ्य संस्थामा समूहको सक्रियामा स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको बताउनु भयो । उहाँले स्वास्थ्य संस्थाबाटै सेनिटरी प्याड वितरणको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो । अन्तरक्रियामा सहभागी प्रियङ्का यादवले स्वास्थ्य संस्थामा किशोरीमैत्री व्यवहार र युवती तथा किशोरीका लागि निशुल्क सेनिटरी प्याडको वयवस्था गर्नु पर्ने माग गर्नुभयो । रीनाकुमारी मण्डलले गाउँको दुई ओटा स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन भएपछि प्रसुति गराउन सहज भएको बताउनु भयो ।
नेपाल पत्रकार महासङघका सदस्य मिकाइल आलमले कोशी गाउँपालिकामा स्वास्थ्य र शिक्षामा जनप्रतिनिधि आएपछि निकै सुधार भएको बताउनु भयो । आलमले जनप्रतिनिधि आएपछि गाउँमा विकाससँगै स्वास्थ्यमा समेत उल्लेखनीय सुधार भएको बतउनु भयो । स्वास्थ्य चौकी पश्चिम कुशाहाका इञ्चार्ज आशाकुमारी मेहताले आफूहरूले स्वास्थ्य सेवा प्रभावकारी र समान रूपले प्रवाह गरेको बताउनु भयो । सेवाग्राहीको गाली गलौजसमेत सुनेर मुस्कानसहितको सेवा प्रवाह गरेको मेहताले बताउनु भयो ।
स्वास्थ्य शाखा प्रमुख सर्मीला ओझाले स्वास्थ्य सेवा र अपाङ्गता नियन्त्रणका लागि फोलिक एसिड कार्यक्रम ल्याएको जानकारी दिनुभयो । स्वास्थ्य शाखाका प्रमुख जमिल अख्खतरले औषधि खरिद आर्थिक नियमावली र कानुन अनुसार एक पटक मात्रै खरिद गर्ने गरेकोले कुनै कुनै औषधि बेलाबखत अभाव भएको बताउनु भएको छ ।
जयकृष्ण यादव