अस्पतालको उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेर बस्न बाध्य भएका जनकपुरधाम उपमहानगरपालिका–३ का ५५ वर्षीय मग्नी दास अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निरन्तर समन्वय तथा पहलपछि ०८३ असार २३ गते साँझ घर फर्किएका छन्।
मानसिक स्थिति सामान्य नरहेका मग्नी दासलाई वैशाख २४ गते महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराहीका ४५ वर्षीय आमोद ठाकुरले चोरको आरोप लगाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट उनको दाहिने हात, दाहिने खुट्टा तथा छातीको ४ नम्बर र १० नम्बर करङको हड्डी भाँचिएको थियो भने टाउकोमा समेत गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएका दासलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएको लगियो । जलेश्वरमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको परिवारले बताए । उनको अवस्था गम्भिर रहेको हुँदा प्रादेशिक अस्पताल जनकपुरधामले पनि रेफर गरेपछि जनकपुरधाम उपमहानगरपालिका–७ स्थित स्वास्तिक अस्पतालमा दासलाई भर्ना गरी उपचार गरिएको थियो ।
घटनामा संलग्न आमोद ठाकुरविरुद्ध पीडित पक्षले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिए । सोही दिन आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी पञ्चलाल गोलेले बताउनु भएको छ ।
आर्थिक अवस्था कमजोर रहेकोले अस्पतालमा बुझाउनुपर्ने ६ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएको दासको भनाई छ । असार ८ गते पीडित पक्षले उपचार खर्च व्यवस्थापन, न्याय प्राप्ति तथा आवश्यक मानवीय सहयोगका लागि पहल गरिदिन अनुरोध गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषामा निवेदन दिए ।
इन्सेकलगायत मानवअधिकार रक्षकहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालय , जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा तथा स्वास्तिक अस्पतालका प्रशासन प्रमुख कोमल शाहसँग निरन्तर समन्वय एवं सहजीकरण गर्दै पीडितको उपचार खर्च व्यवस्थापनमा पहल गरेका थिए ।
अस्पताल प्रशासनले अस्पतालमा बुझाउनुपर्ने ६ लाख रुपैयाँमध्ये ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार रुपैयाँ छुट दिएको थियो । छुटपछि तिर्नुपर्ने बाँकी २ लाख ४० हजार रुपैयाँमध्ये बिरामी पक्षले औषधि उपचार खर्चबापत ७० हजार रुपैयाँ तथा अस्पताल प्रशासनलाई ३० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि मग्नी दास घर फर्किएका हुन् ।
HUMAN RIGHTS NEWS PORTAL






