अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरिरहेका कार्यक्रमहरूको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमहरूलाई प्रभावकारी, गुणस्तरीय र परिणाममुखी ढंगले सञ्चालन गर्ने उद्देश्यले नेपालगञ्जमा समीक्षा बैठक सम्पन्न गरेको छ।
बैठकमा इन्सेकका अध्यक्ष विजयराज गौतम, निर्देशक भार्गव काफ्ले, लुम्बिनी प्रदेश संयोजक भोला महत, सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी तथा कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको सहभागिता रहेको थियो।
बैठकमा इन्सेकद्वारा प्रदेश कार्यालयमार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको उपलब्धि, चुनौती र सिकाइको समीक्षा गरिएको थियो। साथै आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने कार्यक्रमहरूको योजना, कार्यान्वयन, समन्वय र अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्र र प्रदेश कार्यालयबीच सुझाव तथा अनुभव आदानप्रदान गरिएको थियो।

मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाउन आवश्यक रहेको अध्यक्ष विजयराज गौतमले बताउनुभयो। उहाँले संस्थाको उद्देश्य र कार्यदिशाअनुरूप मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा सामाजिक न्याय सुनिश्चित गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र उत्तरदायित्वलाई थप सुदृढ बनाउन प्रदेश कार्यालयहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले संस्थाको दीर्घकालीन स्थायित्व, विश्वसनीयता र प्रभावकारिता अभिवृद्धिका लागि स्रोत व्यवस्थापन, साझेदारी विस्तार, संस्थागत क्षमता विकास, सुशासनको प्रवर्द्धन तथा गुणस्तरीय कार्यक्रम सञ्चालनमा विशेष जोड दिनुपर्ने बताउनुभयो। मानव अधिकारको क्षेत्रमा इन्सेकले हासिल गरेको विश्वसनीयतालाई अझ सुदृढ बनाउँदै आगामी दिनमा संस्थालाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन प्रदेश कार्यालयमा कार्यरत इन्सेककर्मीहरूले सक्रियतापूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
बैठकमा प्रदेश संयोजकहरूले समुदायको आवश्यकता र स्थानीय सन्दर्भलाई ध्यानमा राखी मानव अधिकारसम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






