इन्सेकको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन

हुम्ला । २०८१ असोज ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा ०८१ असोज ७ गते जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० ओटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानव अधिकारकर्मी उत्पादन गर्नुका साथै मानव अधिकारको प्रवर्द्धन र प्रत्याभूति गर्ने उद्देश्यका साथ हुम्ला जिल्लामा पनि उक्त कमिटी गठन गरिएको रोयम नेपाल, कर्णाली प्रदेश संयोजक सन्तोष विकले बताउनु भयो ।

गठन कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानव अधिकारका क्षेत्रलाई क्रियाशील बनाइ सरोकारवाला निकायले गरेका मानव अधिकार उल्लङ्घनका विषयमा उठान गर्ने र सरोकारावाला निकायलाई सजक बनाउने उद्देश्यका साथ सोही दिन सर्वसहमतिमा उक्त कमिटी गठन भएको संयोजक विकले बताउनु भयो । संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्षभन्दा मुनिका युवाहरूलाई समेटेर मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ ।

       

जसमा जिल्ला अध्यक्षमा राजकुमार रोकाया, उपाध्यक्ष खुल्लामा रवि सुनार, उपाध्यक्ष समावेशी उपाध्यक्षमा प्रतिभा शाही, सचिवमा आयुस्मा बुढाथोकी, सहसचिवमा बाँचदेवि बुढा, कोषाध्यक्षमा मनिसा परिायार र सहकोषाध्यक्षमा भिमराज शाही लगायत २८ सदस्यीय रहने गरि जिल्ला युवा मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । त्यस्तै नयाँ कमिटीले सोही दिन १३ सदस्यीय सचिवालय कमिटी समेत गठन गरेको छ ।

जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा गैरसरकारी महासङ्घ हुम्लाका अध्यक्ष जनक बुढाको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा रोयम नेपाल, इन्सेक, गैरसरकारी महासङ्घ, नेपाल पत्रकार महासङ्घ, मानव अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्था, नागरिक समाज र गैरसरकारी सङ्घसंस्थाको पनि प्रतिनिधित्व रहेको थियो ।

उक्त युवा मानव अधिकार रक्षक सञ्जाल कमिटीले आगामी दिनहरूमा जिल्ला भरीको बस्तुस्थितिलाई बुझि त्यसको पहलकदमी गर्ने र जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ति पनि उठान गर्ने भएको छ ।

नन्द सिंह