फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेशको टोलीले सयूक्त अनुगमन गरेको छ ।
टोलीले २०८२ फागुन १७ गते बागलुङ जिल्लामा निर्वाचनका सन्दर्भमा तयारीका विषयमा स्थलगत अनुगमन गरेको हो । टोलीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अधिकारकर्मीसँग भेटघाट गरी निर्वाचन पूर्वको तयारी बारे जानकारी लिएको थियो । बागलुङका मुख्य निर्वाचन अधिकृत सीता शर्माका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरू खटाइसकिएको साथै राजनीतिक दलहरुबीच आवश्यकता अनुसार सर्वदलीय बैठक राखी अभिमुखीकरण गरेको जानकारी दिनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा खटाइएका कर्मचारीहरू फागुन १८ गते देखि सम्बन्धित मतदान स्थाल प्रस्थान गर्ने छन् । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा वर्गीकरण गरी मतदानस्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई आवश्यकता अनुसार परिचालन गरिने आचार्यले बताउनुभयो ।
निर्वाचनपूर्वको तयारी सम्बन्धी अनुगमन टोलीमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिका संयोजक विष्णु प्रसाद बराल, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका प्रदेश संयोजक गणेश भण्डारीलगायतको टोली सहभागी थियो ।
HUMAN RIGHTS NEWS PORTAL






