काठमाडौँ प्रहरी परिसरका प्रमुख र इन्सेक टोलीबीच मानव अधिकारको अवस्थाका वारेमा छलफल
काठमाडौँ । ०८३ कार्तिक १० गते
काठमाडौँ जिल्लाको समग्र मानव अधिकारको अवस्था, साइबर सुरक्षा र बढ्दो अनलाइन दुर्व्यवहारका विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि बीच ०८३ कार्तिक १० गते छलफल भएको छ ।
उक्त भेटवार्तामा जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरे र प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाको उपस्थिति रहेको थियो ।
छलफलमा इन्सेकका तर्फबाट निर्देशक भार्गव काफ्ले, सूचना अधिकारी कृष्ण गौतम र इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेल सहभागी हुनुहुन्थ्यो ।

छलफलका क्रममा वरिष्ठ प्रहरी उपरिक्षक दिलिप घिमिरेले जिल्लाभित्र मानव अधिकारको रक्षा, कानुनी शासनको पालना र नागरिकको सुरक्षाका विषयमा प्रहरी संवेदनसिल रहेको जानकारी गराउनु भयो । पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै बढेका साइबर अपराध र अनलाइन दुर्व्यवहारका घटनाहरूलाई नियन्त्रण गर्न तथा पीडितलाई न्याय दिलाउन प्रहरी र नागरिक समाजबीचको सहकार्य आवश्यक रहेको कुरामा उहांले जोड दिनुभयो ।
सोही अवसरमा इन्सेकको टोलीले नेपाल सरकारद्वारा लागू गरिएको ’मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना’ को पुस्तक काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेलाई हस्तान्तरण गरेको थियो ।
इन्सेक वागमती प्रदेश कार्यालय
HUMAN RIGHTS NEWS PORTAL







