नेपाल सरकारको छैटौँ राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा कर्णाली प्रदेशका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८३ भदौ ९ गते कार्ययोजना सम्बन्धी पुस्तक हस्तान्तरण गर्दै प्रदेश तथा स्थानीय तहसहित सुरक्षा निकाय र न्याय क्षेत्रका सरोकारवालासँग कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरेको हो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको नेतृत्वमा कार्ययोजनाको पुस्तक कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी जयराज सापकोटा र जिल्ला न्यायाधिवक्ता तुलसा भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पुस्तक हस्तान्तरणसँगै छैटौँ राष्ट्रिय कार्ययोजनाले समेटेका मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनका विषयमा सम्बन्धित निकायका प्रमुखहरूसँग छलफल गरिएको इन्सेकले जनाएको छ ।
छलफलका क्रममा प्रमुख सचिव राधिकाले प्रदेश सरकारको तहबाट मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्ययोजनाले निर्दिष्ट गरेका विषयलाई प्रदेश सरकारका कार्यक्रमसँग जोड्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनु भयो । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय तह मानव अधिकार संरक्षण र नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण निकाय भएकाले कार्ययोजनालाई स्थानीय तहका नीति, योजना तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले नगरपालिकाको तर्फबाट कार्ययोजना कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी जयराज सापकोटाले मानव अधिकारको सम्मान र संरक्षण प्रहरीको कार्यसम्पादनको महत्वपूर्ण पक्ष भएको बताउँदै प्रहरी संगठनबाट मानव अधिकारमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला न्यायाधिवक्ता तुलसा भण्डारीले न्यायमा नागरिकको सहज पहुँच, कानुनी सहायता तथा पीडितको अधिकार संरक्षणका विषयमा कार्ययोजनाले महत्वपूर्ण मार्गनिर्देशन गर्ने बताउनु भयो । उहाँले कार्ययोजनामा समेटिएका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले छैटौँ राष्ट्रिय कार्ययोजना कागजमा मात्र सीमित नभई नागरिकको अधिकारसँग प्रत्यक्ष जोडिने गरी कार्यान्वयन हुनुपर्ने बताउनु भयो । उहाँले कार्ययोजनाको कार्यान्वयन अवस्थाको अनुगमन तथा सरोकारवालाबीच समन्वयका लागि इन्सेकले आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने बताउनु भयो ।
इन्सेकले कार्ययोजनाको पुस्तक हस्तान्तरणमार्फत प्रदेश सरकार, स्थानीय तह, प्रहरी तथा न्याय क्षेत्रका सरोकारवालालाई कार्ययोजनाका प्राथमिकता र जिम्मेवारीबारे जानकारी गराउँदै आगामी दिनमा कार्यान्वयनका लागि प्रतिबद्धता लिन पहल गरेको हो ।
छैटौँ राष्ट्रिय मानव अधिकार कार्ययोजनाले मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र नागरिक अधिकारको सुनिश्चितताका लागि राज्यका विभिन्न तह र निकायको भूमिका स्पष्ट गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






