नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बझाङ । २०८२ पुस ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ७ गते सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि सत्यराज सिंहले सन् २०२५ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका मानव अधिकारसँगसम्बन्धित ४८ ओटा घटनाहरु समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुको थियो । जिल्लाको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार तथा स्वास्थ्यको अधिकारका सवालमा समेत छलफल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले मानव अधिकारसम्बन्धी गम्भीर सवालहरु इन्सेकले उठान गरेको भएता पनि कतिपय छुटेका सवालहरु वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो । साथै, उहाँले रोजगारीको खोजीमा भारतमा गएर समस्यामा परेका नागरिकहरुको विषयलाई पनि मानव अधिकार वर्ष पुस्तकमा समेट्न सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ, बझाङ शाखाका सचिव प्रताप ओलीले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकार वकालत गर्न सहयोग पुगेको बताउँदै पीडितलाई कानुनी पहुँचसम्म पु¥याउन इन्सेकले महत्वपुर्ण काम गरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला घरेलु तथा साना उधोग कार्यालय, बझाङका प्रमुख मानबहादुर धामीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताउनु भयो । कार्यक्रममा महिला अधिकारकर्मी, नागरिक समाज, दलित अभियन्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सत्यराज सिंह