नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

कपिलवस्तु । २०८२ पुस १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा जिल्लामा मानव अधिकारको समग्र अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ पुस ११ गते कपिलवस्तु तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बिसीले जिल्लामा जनवरी १ देखि डिसेम्बरसम्म मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४ सय १ ओटा घटनाहरूको अभिलेख गरेको बताउनु भयो ।

जसमा बालबालिका सम्बन्धी बलात्कारका ३१ ओटा, यौन दुर्व्यवहारका आठ ओटा, महिला सम्बन्धी बलात्कार आठ ओटा र बलात्कार प्रयास सात ओटा, मानव बेचविखन तथा ओसार पसारका चार ओटा, अपहरण तथा शरीर बन्धक तीन जना, बालविवाह एक जना, विद्युतीय अपराध तीन जना, प्रहरी हिरासतमा एक जनाको मृत्यु, अपमान व्यहार सम्बन्धी एक र घरेलु हिंसाबाट ३ सय ३५ जना पीडित रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले समाजमा रहेका सबै सामान्य कुरालाई वर्ष पुस्तकमा राख्न नहुने भन्दै वर्ष पुस्तकले सकारात्मक कुराहरुलाई बढी जोड दिनुपर्ने बताउनु भयो ।

 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सबै सरोकारवालासँग समन्वय गरेर अन्तिम प्रतिवेदन पठाउन आग्रह गर्नुभयो । मानव अधिकारको हिसाबले धेरै अगाडी भएको स्मरण गराउँदै कपिलवस्तुका राम्रा सकारात्मक कुराहरुलाई राखेर सम्पादन गर्न सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीले कपिलवस्तुमा सरसफाइको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने र लागु औषधको रोकथामका क्षेत्रमा पनि काम गर्नुपर्ने, जंगफुड प्रयोगको विषयमा अनुगमनलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ सो विषयमा सबै सरोकारवालाहरु सक्रिय हुनुपर्ने बताउनुभयो

उहाँले महिला अधिकारको विषयलाई लिएर महिलाका सवालको कुरा गर्दा अझ मानव अधिकारमैत्री संस्कार किसानका अधिकारका सवालमा पनि हामी संवेदनशील भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष आचार्यले इन्सेकले मानव अधिकारको क्षेत्रमा काम गर्दा कसरी जिल्लाका विभिन्न कार्यालयहरुले के कसरी काम गरिरहेको छ, कस्ता समस्याहरु छन चुनौती कस्ता खेप्नु परेको छ सो विषयमा पनि अभिलेख गरिदिन आग्रह गर्दे मानव अधिकारको संस्कार विकास गर्न आफूहरु संवेदनशिल भएर लागेको बताउनु भयो ।

एसपी आचार्यले मानव अधिकारको सवालमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरुले खेपेको पीडालाई कसरी अभिलेख गर्न सकिन्छ त्यस्ता विषयमा पनि इन्सेकले ध्यान पुरयाउनु पर्ने बताउनुभयो ।

 सशस्त्र प्रहरी बलका एसपी नेत्र के.सी. ले मानव अधिकारको सवालमा कैदी बन्दीहरुले मात्र शौचालय जाँदा लाइन लाउने अवस्था होइन प्रहरी कार्यालयमा पनि डिउटीमा खटिने हामीहरु प्रहरीहरु लाइन लाउनुपर्छ अपराधीहरुलाई पनि एटेज वाथरुम दिन त सकिदैन नी । अपराध गर्ने सुविधा धेरै खोज्ने यस्तो विषयमा ध्यान दिन नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसालले नेपाल सरकारले कर्मचारीहरु कटौती गरेका कारण स्वास्थ्यमा सेवा प्रवाहमा समस्या देखिएको बताउनुभयो । स्वास्थ्य चौकी पहिलाको अवस्था पहिलाको तुलनामा केही सुधार भएकोले सुधारका विषयहरुमा पनि इन्सेकले अभिलेख गर्नुपर्ने बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुशिला बेल्बासेले पहिलाको तुलनामा केही सुधारको अवस्था भएपनि जिल्लामा अहिले पनि जातीय छुवाछुतका घटनाहरु रहेको भन्दै इन्सेकले मानव अधिकारको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेकोले आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अगाडी बढनुपर्ने बताउनु भयो ।

साथी संस्थाका प्रमुख विमला पौडेल जातीय छुवाछुतको जिल्लामा पहिलाको अवस्थामा सुधार उन्मुख भएकोले हिंसा पीडित महिलालाई राख्नको लागि दीर्घ कालिन आवासगृहको लागि सरकारलाई घचघचाउन इन्सेकलाई आग्रह गर्नुभयो । हिंसाबाट जन्मेका बच्चाहरुको जन्म दर्ता गराउनका लागि सहयोग गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

अधिकारकर्मी पुष्पा रेग्मीले कपिलवस्तु जिल्लामा आत्मा हत्याका घटनाहरु बढी हुने भएकोले आत्मा हत्याका घटनाहरुलाई पनि समेटन सुझाव दिनुभयो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारकर्मी प्रेरण विष्टले विगतको तुलनामा धेरै सहयोग सहजता भएको र प्रहरीले निर्दोष व्यक्तिलाई थुनेर राखेर अहिले धरौटी सहितको तारिख बोकिरहनु परेको बताउदै दाजुले गल्ती गर्ने भाईले सजाय पाउने त्यस्तो परिस्थितीको अन्त्यका लागि सहयोग गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

माहुरी होमका अध्यक्ष रामदयाल ठाकुरले मानव अधिकारको क्षेत्रमा इन्सेकले लामो समयदेखि काम गर्दै आएकोले जिल्लाको समग्र मानव अधिकारको अवस्थाका विषयमा इन्सेकले गरेको कामको प्रशंशा गर्दै मानव अधिकार संस्कृतिको विकासका लागि माहुरी होमले सधैं सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

जिल्ला कारागार कपिलवस्तुका प्रमुख दलबहादुर बस्नेतले मानव अधिकारको संरक्षणका लागि सक्रिय भएर अगाडी बढेको बताउनु भयो ।

कार्यक्रम इन्सेकका साधारण सदस्य रुकैया खातुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रीमा बि.सी.