प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

कैलाली । २०८३ असोज २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक ०८३ असोज २६ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चाडपर्व नजिकिएको बेलामा बजारमा अखाद्य वस्तुको विक्रीवितरण, मुल्यवृद्धि, कालो बजारी, यातायातर हवाई टिकटमा महँगी बढेकाले उपभोक्ता मारमा परेकाले मानव अधिकार रक्षक सञ्जालले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नु पर्ने बताउनु भयो ।

 

हरेक चाडपर्वको बेलामा मात्र बजार अनुगमन हुने अन्य बेलामा अनुगमन गर्ने निकाय निष्कृय हुँदा उपभोक्ता मारमा परिरहेकाले अनुगमन गर्ने निकायले नियमित अनुगमन गरिनु पर्ने र प्रदेश सरकारले बजेट विनियोजन गर्न नसक्दा कर्मचारीहरुले तीन महिनादेखी तलब पाउन नसेको उहाँले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष देवीप्रसाद खनालले मानव अधिकारसम्बन्धी छैठौं राष्ट्रिय कार्यायोजनालाई संस्थागत गर्न सबै संस्थाहरुले आ–आफ्नो कार्य क्षेत्र भएको स्थानीय तहमा कार्यान्वयनका लागि पहल गर्नु पर्ने बताउनु भयो ।

ओरेक नेपालकी जिल्ला संयोजक तथा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालकी सदस्य गिता चौधरीले लैङ्गिक हिंसा प्रभावितहरुको लागि सुरक्षित आवास गृह स्थापना गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहसँग छलफल गरेर बजेट पारित भइसकेकाले कार्यान्वयनका लागि नियमित समन्वय गरिनु पर्ने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष देवीप्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकमा बिभिन्न संघसस्था तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

मैनामोती चौधरी