बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग
महोत्तरी । २०८१ चैत २४ गते
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत २० गते बलात्कार घटनाकि पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरिएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो । पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।
विश्वकर्माका अनुसार पीडित तीन वर्षीया बालिकालाई चैत १७ गते जलेश्वर नगरपालिका-४ का १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत १८ गते उजुरी दिनु भएकोमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित पक्षको अनुसार चैत १७ गते बालिका आफ्नो घर अगाडी खेलि रहेको अवस्थामा आरोपितले बालिकालाई ललाइ फकाइ आफ्नो घरमा लगि बलात्कार गरेको कारण निजविरुद्ध जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिएको हो ।
पीडितको स्वास्थ परीक्षण चैत १८ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको जिल्ला प्रहरि कार्यालयका इन्स्पेक्टर विशाल सिंहले जनाकारी दिनुभयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले घटना बारे इन्सेक महोत्तरी प्रतिनिधि मार्फत जानकारी पाएको र पीडित पक्षले न्यायको लागि पहल र आर्थिक सहयोग गरिदिनुहुन निवेदन दिएको हुनाले सो सहयोग गरेको बताउनु भयो ।
ममता विश्वकर्मा
HUMAN RIGHTS NEWS PORTAL






