मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा रसुवामा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा ०८३ भदौ २० गते जनकपुरधाममा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। “प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने नाराका साथ सम्पन्न सभामा रसुवालगायतका जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय धनुषास्थित जिल्ला समितिको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा जनकपुरस्थित जनकचोकमा सभा आयोजित कार्यक्रममा बोल्दै मधेश प्रदेशका सभामुख रामअशिष यादवले विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले संकटको घडी हो। बाढीपहिरो प्रभावित नागरिकलाई हाम्रो साथ र सहयोग आवश्यक छ। उद्धार र राहतका लागि सबैले हातेमालो गर्नुपर्छ।” मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै सभामुख यादवले विपद्का समयमा मानव अधिकारकर्मी तथा सामाजिक संघसंस्थाले निर्वाह गरेको मानवीय भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले विपद्पीडित नागरिकको जीवन र मानव मर्यादाको संरक्षणका लागि निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विपद्पीडित नागरिकको मानव अधिकार संरक्षणका लागि राज्यका निकाय, मानव अधिकारकर्मी तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासमानले प्राकृतिक विपद्का कारण नागरिकको जीवन, आवास, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने भएकाले प्रभावित नागरिकको मानव अधिकार संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विपद्पीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउनुका साथै सुरक्षित पुनःस्थापना, स्वास्थ्य सेवा, आवास तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु राज्यका सम्बन्धित निकायको दायित्व रहेको भन्दै विपद्को समयमा नागरिकको जीवनको रक्षा गर्नु राज्यको प्रमुख दायित्व रहेकोप्रति जोड दिनुभयो । सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन, प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन र सुरक्षित पुनःस्थापनाको अधिकार सुनिश्चित गर्नसमेत उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
आफन्त नेपाल धनुषा जिल्ला संयोजक अमृता घिमिरेले विपद्का बेला नागरिकको जीवन रक्षाका लागि समयमै उद्धार, राहत, पुनस्र्थापना र सुरक्षित बसोबासको व्यवस्था गर्नु राज्यको प्रमुख दायित्व हो भन्नुभयो । त्यस्तै, विपद्को समयमा एकअर्कालाई सहयोग गर्ने, जोखिम न्यूनीकरणमा सचेत रहने र प्रभावितको उद्धार तथा राहतमा सहकार्य गर्ने नागरिकको कर्तव्य रहेको औल्याउनुभयो । राज्य र नागरिकको साझा प्रयासबाट मात्र विपद्को क्षति न्यूनीकरण र प्रभावितको जीवनमा पुनः आशा जगाउन सकिने उहाँको भनाई थियो ।
भदौ १० गते बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीपहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्ला प्रभावित भएका छन्। प्राकृतिक विपद्का कारण नागरिकको जीवन, स्वास्थ्य, आवास, सुरक्षा तथा सुरक्षित रूपमा बाँच्न पाउने अधिकारमा परेको असरप्रति कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो।
सभामा सहभागीहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यस्तै मानव अधिकारकर्मीहरूले विपद्को जोखिममा रहेका नागरिकको जीवन तथा मानव अधिकारको संरक्षण, राहतमा समान पहुँच र सुरक्षित पुनःस्थापना सुनिश्चित गर्न राज्यलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेका थिए।
सो अपसरमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय , जिल्ला प्रशासन कार्यालय धनुषा , इन्सेक मधेश प्रदेश कार्यालय, , कायापलट, एम्नेष्टी इन्टरनेशनल, जिल्ला प्रहरी कार्यालय धनुषा, ओरेक नेपाल, आफन्त नेपाल, माइती नेपाल, डब्लुएचआरडी लगायत मानव अधिकार तथा सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
HUMAN RIGHTS NEWS PORTAL






