इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड एड नेटवर्कको सहयोगमा हेटौंडामा ०८२ फागुन ४ गते निर्वाचनका सन्दर्भमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै उपसभामुख चापागाईंले बाल अधिकार हनन हुन नदिने गरी आफ्नो मातहतका संरचनाहरु मार्फत काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले फागुन २१ को चुनाव मात्र नभई विपन्न, दलित र सिमान्तकृत समुदायका बालबालिकाहरुलाई विविध पक्षबाट पीडित हुनबाट जोगाउनु आवश्यक रहेकाले नियमित रूपमा बाल संरक्षणका विषयमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

निर्वाचनमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतीकरण दिनुभयो। उहाँले विद्यमान कानुनी व्यवस्था, निर्वाचन आचारसंहिता ०८२ अन्तर्गत पालना गर्नुपर्ने आचरण, बालबालिका स्वयंको भूमिका, अभिभावक, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारको जिम्मेवारीबारे प्रकाश पार्नुभयो । खुला छलफलसँगै कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले बालअधिकार संरक्षणमा हस्ताक्षर सहितको प्रतिबद्धता जनाए । उनीहरूले यस्ता कार्यक्रम निर्वाचन लक्षित मात्र नभई अन्य समयमा पनि सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
यसैबीच, हेटौंडा–११ स्थित सुधारगृहमा क्षमताभन्दा बढी बाल कैदी राखिएको विषयमा समेत सहभागीहरूले ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, नेकपा एमालेका जिल्ला सचिव सीता विष्ट, नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य प्रलाद लामिछाने, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, निर्वाचन कार्यालयका सुचना अधिकारी तारा प्रसाद आचार्य, सिविन प्रबन्धक झबिन्द्र ज्ञावली, ‘बालिका दुलही होइनन् अभियानका अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, मुख्य न्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, मुख्यमन्त्री कार्यालयका कानुन अधिकृत विनोद अमात्य लगायत मानवअधिकारकर्मीहरूको उपस्थिति थियो।
इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खरेलको सभाध्यक्षतामा संचालित कार्यक्रमको समापन मन्तव्यका क्रममा सम्बन्धित सरोकारवालाहरुलाई जिम्मेवार र जवाफदेहि बनाउन इन्सेकले गर्दै आएको निवार्चन अनुगमन र थप सशक्त ढंगले अगाडी बडाइने बताउनु भयो । कार्यक्रम इन्सेक बागमती प्रदेशका सहायक प्रलेख अधिकृत बरुण बस्यालले संचालन गर्नुभएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






