शसस्त्र द्वन्द्वको समयमा सरकार पक्ष र तत्कालिन माओवादी पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थाका बारेमा आफूहरुले सत्य थाहा पाउनु पर्ने पीडित परिवारहरुले माग गरेका छन् ।
इन्सेक, एड्भोकेसी फोरम र रेडक्रस सोसाइटी, धनगढीको संयुक्त आयोजनामा बलपूर्वक बेपत्ता पारिका नागरिकहरुको १६ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा ०८३ भदौ १४ गते धनगढीमा आयोजित संक्रमणकालिन न्याय र बेपत्ता पारिएका व्यक्तिहरुको न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्यले सो माग गरेका हुन् ।

तत्कालिन माओवादी पक्षले घरबाट अपहरण गरी बेपत्ता बनाएको झण्डै २३ वर्ष बितिसक्दा पनि अहिलेसम्म पतिको अवस्थाका बारेमा आफूले सत्य जान्न नपाएको पीडित पदमादेवि बमले गुनासो गर्नु भयो । के कारणले बेपत्ता पारिएको हो ? र हालसम्म पनि पतिको अवस्था के छ भनेर आफूलाई कस्ले जानकारी गराउने हो ? उहाँले प्रश्न गर्नु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले पीडितले सत्य जान पाउनु पर्ने र पीडित परिवारको सत्य, परिपूरण र न्यायको सुनिश्चितता राज्यले गर्नु पर्ने बताउनु भयो । राज्य जिम्मेवार र सम्वेदनशिल नभएका कारण शसस्त्र द्वन्द्वको अन्त्य भएको झण्डै २० वर्ष बितिसक्दा पनि पीडितहरुले न्याय पाउन नसकेको उहाँले बताउनु भयो ।

एडभोकेसी फोरमका, कैलाली जिल्ला संयोजक पुष्पबिक्रम शाहीले द्वन्द्व पीडित त्यसमा पनि बलपूर्वक बेपत्ता पारिएका नागरिकका परिवारहरुको न्यायका लागि नागरिक तहबाट दबरदारी गर्नका लागि पहल भइरहेको बताउँदै पीडित परिवारहरुले बेपत्ता पारिका आफ्ना परिवारका सदस्यका बारेमा सत्य थाहा पाउनु पर्ने र बेपत्ता पार्ने कार्य अन्तर्राष्ट्रिय कानुनले समेत निषेध गरेको इतिहास स्मरण गर्दै बेपत्ता छानबिन आयोगमा ३ हजार २ सय ८२ ओटा बेपत्तासम्बन्धी उजुरी रहेको बताउनु भयो ।
नेपाल रेकक्रस सोसाइटी, कैलालीका सभापति लोकराज जोशीले नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएको हैसियतले त्यसको नियमको पालना गर्दै आफ्ना बेपत्ता पारिएका नागरिकको अवस्था बारे सत्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउनु राज्यको कर्तव्य रहको बताउँदै यसका लागि नागरिक तहबाट दबाब दिन आवश्यक रहेको बताउनु भयो ।
१६औँ अन्तर्राट्रिय बेपत्ता दिवसको अवसरमा पीडितहरुको न्यायका लागि देउडा कार्यक्रम तथा दिपप्रजोलन कार्यक्रम समेत धनगढीमा अयोजना गरी सम्पन्न गरिएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






