बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट देवकोटा र कर्ण सम्मानित
सप्तरी । २०७८ साउन १६ गते

महिला अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राजविराज नपा–७ की अनीता देवकोटा र खडक नपा–८ की रुबी कर्णलाई साउन १६ गते बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको छ । २९औँ प्रकाश स्मृति दिवसका अवसरमा राजविराजमा आयोजित कार्यक्रममा देवकोटा र कर्णलाई नगद ५ हजार १ सय ५ रुपियाँ, सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्यायविरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश २ को अध्यक्ष रहनु भएकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो । यसैगरी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएर ग्रामीण भेगमा २०६४ सालमा सहकारी स्थापना गरी सिपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरीब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान गर्नु भएकोमा कर्णलाई वर्ष २०७७ का लागि पुरस्कृत गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण गत वर्ष वितरण हुन नसकेको पुरस्कार यस पटक वितरण गरिएको आयोजकले जनाएको छ । बैद्य–प्रकाश मानव अधिकार कोष समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश १ योजना आयोगका उपाध्यक्ष एवम् इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले अरुको अधिकारको सम्मान गर्नु नै मानव अधिकार भएको बताउनु भयो । मानव अधिकारप्रति संविधान र दलहरू प्रतिबद्ध रहेकोमा गौरव महसुस गर्दै प्याकुरेलले मानव अधिकारको प्रगतिशील व्याख्या गर्न जरुरी रहेको र सबैभन्दा अपहेलित, पछाडि पारिएकाहरूलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनु भयो ।

कमैया प्रथा उन्मूलन, दलित–जनजातिविरुद्ध भइरहेको विभेदको अन्त्य र महिलाहरूको सहभागिता बृद्धिमा जोड दिँदै इन्सेकको स्थापना गर्नुभएका संस्थापक महासचिव काफ्लेको बहुआयामिक व्यक्तित्वबारे प्याकुरेलले प्रकाश पार्नुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख बिरबहादुर मगरले जातीय विभेद र महिला हिंसालगायत सबै प्रकारका विकृतिविरुद्ध राज्यले मात्र नभई सबैले सङ्गठित भएर योगदान गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नपा–६ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषमा उहाँकी आमा चन्द्रादेवी झाले सामाजिक सुरक्षा भत्ताबापत पाउनु भएको ५० हजार रुपियाँ थप गर्नुभएको छ । यसैगरी पुरस्कृत कर्णले प्राप्त गर्नुभएको पुरस्कार राशीमा थप गरी १० हजार २ सय रुपियाँ कोषमा जम्मा गर्नुभएको छ ।

उक्त पुरस्कार पाउने पहिले व्यक्ति सुरुङ्गा नगरपालिका–४ का बलदेव राम हुनुहुन्थ्यो । त्यसैगरी छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का असर्फि सदा र राजविराज नगरपालिका–६ का मनोहरकुमार पोखरेल क्रमश सम्मानित हुनु भएको थियो । इन्सेकका संस्थापक महासचिव काफ्लेको ४० वर्षको उमेरमा ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एयरबसको विमान दुर्घटना हुँदा निधन भएको थियो ।

पुरस्कार कोषका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासङ्घका प्रदेश २ अध्यक्ष शङ्कर शारदा, राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव, महिला शिक्षक मञ्जु श्रेष्ठले मानवअधिकारको चेतना गाउँ–गाउँसम्म पुर्याउनु पर्ने र सरोकारवाला निकायले मानव अधिकारको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
मनोहरकुमार पोखरेल
HUMAN RIGHTS NEWS PORTAL






