मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
बाँके । २०८१ असोज ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते नेपालगञ्जमा सुरु भएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले युएसएआइडीको आर्थिक सहयोगमा नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत द एसिया फाउन्डेसनसँगको सहकार्यमा फोरम एसियाले ओरेक, इन्सेक तथा सिएसआरसी जस्ता स्थापित संस्थाहरूसँग यस परियोजनाका लागि सहकार्य गरेको बताउनु भयो । उहाँले मानव अधिकार, नागरिक स्थान र लोकतन्त्रको प्रवर्द्धन गर्न क्षमता, स्रोत र सीपहरूको माध्यमबाट मानव अधिकार संस्थाहरूको सबलीकरण गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमहरूमा युवा, महिला र सीमान्तकृत समुदायको सहभागिता र सक्रियता शून्यको अवस्थामा रहेको तर, अहिले उक्त समुदायको सक्रियता बढेको संयोजक महतले उल्लेख गर्नुभयो ।
मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक प्रकाश उपाध्यायले तालिममा महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको आफ्नो क्षमतागत विकास र आर्थिक तथा समाजिक अधिकारका सवालहरूमा भोग्नुपरेको समस्याहरू उठाउन थप सहज हुने बताउनु भयो ।
तालिममा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई मानव अधिकार सयन्त्र, मानव अधिकार विकासक्रम, मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका र नेतृत्व विकास लगायत विषयमा जानकारी दिइने छ ।
ध्रुबराज शर्मा
HUMAN RIGHTS NEWS PORTAL






