मानव अधिकार रक्षकको सुरक्षाका लागि एकता र सहकार्यमा जोड

बाँके । २०८२ मङ्सिर २४ गते

नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। “मानव अधिकार हामी सबैको अपरिहार्य आधार” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसका अवसरमा नेपालगञ्ज उच्च बार एशोसियसनका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षता तथा मानव अधिकार आयोग कार्यालय नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीको प्रमुख आतिथ्यमा ०८२ मंसिर २३ गते नेपालगञ्जमा कार्यक्रम सम्पन्न भएको हो।

बदलिंदो परिस्थितिमा मानव अधिकार रक्षकहरूले भोगिरहेका जोखिम, चुनौती र सुरक्षासम्बन्धी संवेदनशीलता विषयक अन्तर्क्रियामा इन्सेक, एडभोकेसी फोरम, उच्च बार एशोसियसन, सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्ज,   पत्रकार महासंघ, गैसस महासंघ,  होप टेनिङ एण्ड रिर्सज सेन्टर नेपालका,  मानव अधिकार सञ्जाल नेपालगञ्ज,  मानव अधिकार एलायन्स, सिविन, आइ.एच.आर.सी, मधेश राइट होम, स्याक नेपाल, पुर्णतारा फाउन्डेसन, फातिमा फाउन्डेसन, द्धन्द्वपीडित महिला राष्ट्रव्यापी सञ्जालसहित विभिन्न संस्थाका प्रतिनिधिहरूको आयोजनामा कार्यक्रम गरिएको थियो।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार रक्षकहरू पीडितका आवाज उठाउने क्रममा भ्रष्टाचार, यातना र दबाबजस्ता चुनौती सामना गर्नुपरेको बताए। १६ दिने महिला हिंसा विरुद्धको अभियानसँगै ९ डिसेम्बरको दिवस मनाइरहेका बेला राज्य र स्थानीय तह मानव अधिकार रक्षकप्रति कति संवेदनशील छन् भन्ने प्रश्न आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नु भयो। हालैको जेनजी आन्दोलनमा प्रहरी, पत्रकार र अधिकारकर्मीले सामना गरेका जोखिम दोहोरिन नदिन नीतिगत स्पष्टता आवश्यक रहेकोमा जोड दिनुभयो। साथै उहाँले हालसम्म विभिन्न पक्षबाट १ सय १ जना मानव अधिकार रक्षकहरु पीडित भएको र सबैभन्दा बढी पत्रकार ४७ जना रहेको र त्यसपछि शिक्षक पीडित भएको जानकारी दिनुभयो ।

      

नेपालगञ्ज उच्च बार एशोसियसनका अध्यक्ष चित्रबहादुर शाहीले आफू सुरक्षित भएर मात्रै अरुको अधिकारको लागि कुरा उठाउन सकिने र मानव अधिकार रक्षकको प्रत्याभूति गराउन सकिने भन्दै सर्वप्रथम राज्यको संयन्त्रलाई  मजबुत बनाउन आवश्यक भएकोले नेतृत्वकर्ताहरुले राजनीतिक संयन्त्रलाई मजबुत बनाउनु पर्ने र अधिकारकर्मीहरु एकताबद्ध ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।

एड्भोकेसी फोरम लुम्बिनीका संयोजक वसन्त गौतमले मानव अधिकार रक्षकहरू असुरक्षित बन्दै गएको अवस्था चिन्ताजनक रहेको बताउदै पीडितको सहयोग तथा न्यायका लागि मानव अधिकारसम्बन्धी सूचनाको सङ्कलन, अनुगमन, प्रकाशन, सचेतना अभिवृद्धि, अनुशासन र वकालतमार्फत राज्यका निकायलाई जवाफदेही बनाउन योगदान गर्दै आएका मानव अधिकार रक्षकहरू नै जोखिममा परिरहनु गम्भीर विषय भएको औलाउनु भयो। गौतमले राज्यमा सुशासन कायम गर्न तथा दण्डहीनताको अन्त्यका लागि निरन्तर क्रियाशील रहे पनि अधिकारकर्मीहरूको सुरक्षा चुनौतीपूर्ण बनेको उल्लेख गर्दै यस अवस्थालाई न्यूनीकरण गर्न अधिकारकर्मीहरु एकताबद्ध ढंगले अगाडी बढ्नुपर्ने  र सम्बद्ध निकायहरू गम्भीर बन्नुपर्ने  सुझाब दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारीले मानव अधिकार रक्षकहरूले आवाज उठाउने क्रममा असुरक्षित भएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै रक्षकको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि समन्वय, सहकार्य र एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड  दिनुभयो। उनले राज्य र गैरराज्य पक्ष दुवै यस विषयमा गम्भीर हुनुपर्ने र सबैको उद्देश्य मानवअधिकारको संरक्षण र संवर्धन हुनु पर्ने बताउनुभयो ।

नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष प्रहलाद बहादुर कार्कीले कानुनले कहिले पनि कसैको मानव अधिकार रक्षक लगायत कसैको हन्न भएको देख्न नचाहने र समाजले कुन काम गर्नु पर्दछ र के गर्नु हुदैन सिकाएको बताउनुभयो । साथै उहाँले रातारात धनी हुनेलाई मन्चमा ल्याएर सम्मान गर्नु भनेको भ्रष्टाचारलाई प्रश्रय दिएको हुने भएकोले कोही रातारात धनी भएका छन भने समाजले त्यस्तो ब्यक्तिको सोधी खोजी गर्ने सकिने दायित्वबोध गराउन आवश्यक भएको सुझाब दिनुभयो।

जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हक र व्यवस्थाको कार्यान्वयनमा कुनै पनि व्यक्तिको अधिकार हनन भएमा आवाज उठाउनु सबै अधिकारकर्मीको कर्तव्य भएको बताउनु भयो। उहाँले मानवअधिकार रक्षकहरूको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितताका लागि निरन्तर सक्रिय रहनु आवश्यक रहेकोमा जोड दिँदै  त्यसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पीडितको अधिकार सुनिश्चित गर्न, न्याय दिलाउन तथा अपराधीलाई पक्राउ गरी कानुनअनुसार दण्डित गर्न प्रहरी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँले विश्वभर साइबर आक्रमणको  आक्रामकता र राजनीतिक दवाबका कारण पत्रकारमाथि जोखिम बढेको उल्लेख गर्नुभयो। दण्डहीनताका कारण मानवअधिकार रक्षक र कानुनी व्यवसायीले सामना गर्ने चुनौती जटिल बन्दै गएकोमा उहाँले दु:ख व्यक्त गर्नुभयो।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव अधिकार रक्षकहरूले निरन्तर आत्मसमिक्षा र आत्ममूल्यांकन गर्दै अघि बढ्नुपर्ने धारणा राख्दै समाजमा संवेदनशीलता घट्दो अवस्थामा रहेको बताउँदै उनले मानव अधिकारको क्षेत्रमा काम गर्दा निष्पक्षता, तटस्थता, इमानदारी र पेशागत परिपक्वता अनिवार्य रहेकोमा जोड दिनुभयो । अरूका हकहितका लागि आवाज उठाउने क्रममा मानव अधिकार रक्षक स्वयं असुरक्षित बन्नुपर्ने अवस्था चिन्ताजनक रहेको भन्दै गिरीले मूल्य–मान्यता भित्र रहेर दायित्व निर्वाह गर्न आग्रह गर्नुभयो।

समाजसेवी तथा मानव अधिकारकर्मी कृष्ण श्रेष्ठले मानव अधिकार रक्षक दिवस विगतका गतिविधि र सुधारको समीक्षा गर्ने महत्वपूर्ण अवसर भएको बताउदै बाँके २२ जिल्लाको ‘हब’ भएको र दुर्घटना जोखिम उच्च देखिने जिल्लाका रूपमा चिनिँदै आएकोले  मानब अधिकार रक्षकहरुको सुरक्षा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

पश्चिम तारा नेपालकी परियोजना प्रमुख परिना चौधरीले  यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई संविधानले दिएको अधिकार व्यवहारमा सुनिश्चित हुन नसकेको  बताउनुभयो । नागरिकताको पहिचान स्पष्ट नहुँदा असुरक्षा बढेको भन्दै पत्रकारहरूले समाचार सम्पादन अघि समन्वयमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

फेडोकी अध्यक्ष निर्मला सुनारले दलित महिला अधिकारकर्मीहरूले दैनिक रूपमा जोखिमसहित काम गर्नुपरेको बताउँदै राज्यले सुरक्षाका लागि प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिनुभयो।

द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी सचिव चन्द्रकला उप्रेतीले २०६० मंसिर २३ गते आफ्ना पति उपेन्द्र उप्रेती नेपाली सेनाद्वारा गिरफ्तार गरी बेपत्ता पारिएको कहालीलाग्दो घटनाको सम्झना गर्दै सत्य–निरूपण अझै नहुँदा पीडित परिवारको पीडा बढिरहेको बताउनुभयो।

समाज सेवा संस्था नेपालका विनोद थापा ले अपांग भएका व्यक्तिहरुले समान अवसर नपाएकोले सबैपक्ष्यहरुबाट चुनौती रहेको बताउनु भयो ।

अन्तरक्रिया भन्दा अगाडी अधिकारकर्मीहरु सचेतनामुलक प्लेकार्ड लिएर बिपी चोकमा मौनता पुर्बक उभिएर पर्दर्शन गरेका थिए । कार्यक्रममा ५९ जना मानवअधिकार रक्षकहरुको सक्रिय सहभागित रहेको थियो ।

ध्रुबराज शर्मा